• ११ फागुन २०८१, आइतबार

फुङलिङमा दुई पक्षबिच पुनः झडप, सात जना घाइते

blog

साहारा लिम्बू

फुङलिङ, फागुन १० गते । ताप्लेजुङको पाथीभरा क्षेत्रमा निर्माणाधीन केबलकारको विषयलाई लिएर ताप्लेजुङ सदरमुकाम फुङलिङमा आन्दोलनरत पक्ष र प्रहरीबिच आज फेरि झडप भएको छ । प्रमुख जिल्ला अधिकारी नेत्रप्रसाद शर्माका अनुसार राँके जुलुसलाई नियन्त्रणमा लिन खोज्दा झडप भएको हो ।

झडपमा प्रारम्भिक विवरणअनुसार ५ नेपाल प्रहरी र दुई आन्दोलनकारी घाइते भएका छन् । नो केबलकार पक्षले सदरमुकाममा राँके जुलुस गर्ने जानकारी गराएपछि सुरक्षाकर्मी सुरक्षाका लागि खटेका थिए । आन्दोलनरत पक्षका असिम पालुङवालाई राँके जुलुस नगर्न र शान्तिपूर्ण दवावका कार्यक्रम गर्नको लागि आग्रह गरेको उहाँले बताउनुभयो। 

शान्तिपूर्ण र्‍याली विरेन्द्रचोक पुगी  राँके जुलुसमा परिणत भएको उहाँको भनाइ छ । थप क्षति हुन नदिनका लागि राँके जुलुसलाई नियन्त्रण लिने प्रयास गर्दा प्रहरी माथि लाठी र ढुङ्गा प्रहार भएपछि दुई पक्षविच झडप भएको प्रजिअ शर्माले बताउनुभयो । घाइतेको यकिन विवरण नआएको र स्थितिलाई नियन्त्रण लिने प्रयास भएको उहाँले बताउनुभयो ।

नो केबलकार समूहका आन्दोलनरत पक्ष काफ्लेपाटीको आन्दोलनपछि शनिबार सदरमुकाम फुङलिङ झरेका थिए । सोही क्रममा आन्दोलनरत पक्षले फुङलिङ बजारमा शान्तिपूर्ण र्‍याली पदर्शन गर्दै बिरेन्द्रचोक पुगी उक्त र्‍यालीलाई राँके जुलुसमा परिणत गरेका थिए ।

झडपका क्रममा आन्दोलनरत पक्षले फुङलिङ नगरपालिका ५ बिरेन्द्रचोकका केही घरमा राँके जुलुसका पुल्ठो घरतर्फ फ्याँकेका थिए । सोअघि बिहीबार काफ्लेपाटीमा भएको झडपमा प्रहरी सहित १४ जना घाइते भएका थिए । गत माघ १२ गते भएको झडपमा प्रहरीसहित २४ जना घाइते भएका थिए ।

पाथीभरामा केबलकारको विषयलाई लिएर पटक पटक झडप हुँदैआएको छ । दुई पक्षविच पटक पटक वार्ता हुँदा पनि सहमति ननिस्केपछि स्थानीय आक्रोशित हुँदैगएको स्थानीयको भनाइ छ ।