धर्बेन्द्र झा
जनकपुरधाम, फागुन १० गते । नेकपा (एमाले) का सचिव एवम पूर्व उपप्रधानमन्त्री रघुवीर महासेठले एमाले नेतृत्वको सरकारले गरेको कामलाई जनताविचमा पुर्याउन नेता कार्यकर्तालाई निर्देशन दिनुभएको छ ।
एमाले जिल्ला संगठन कमिटी धनुषाले शनिबार जनकपुरधाममा आयोजना गरेको वडाकेन्द्रित पार्टी निर्माण अभियान अभिमुखिकरण कार्यक्रमलाई सम्बोधन गर्दै उहाँले यस्तो बताउनुभएको हो । उहाँले वर्तमान सरकार सफलतातर्फ अग्रसर भइरहँदा प्रधानमन्त्री केपी शर्मा ओलीको विषयमा विभिन्न प्रकारका गलत प्रचारवाजीहरु भइरहेको भन्दै त्यस्तो गलत प्रचारवाजीविरुद्ध जनतालाई सत्यतथ्य जानकारी गराउन आग्रह गर्नुभयो ।
उहाँले जनताकै मतको आधारमा एमाले देशको पहिलो पार्टी बनेकाले संगठन निर्माणको क्रममा जनताको सेवक भएर जनताविचमा जान नेता कार्यकर्तालाई आग्रह गर्दै जनताकै वलमा एमाले सरकारको नेतृत्व गरिरहेको बताउनुभयो । सचिव महासेठले सरकारले ल्याएको अध्यादेश जनताको हितमा रहेको बताउनुभयो ।
कार्यक्रममा नेकपा (एमाले) का संगठन विभाग प्रमुख काशीनाथ अधिकारीले श्रमजिवी वर्गको सत्तामा नेतृत्वको लागि एमालेलाई आगामी निर्वाचनमा बहुमत दिन आग्रह गर्नुभयो ।
एमाले मधेश प्रदेशका इन्चार्ज लिलानाथ श्रेष्ठले एमालेको मिसन २०८४ सालको निर्वाचनलाई केन्द्रीत गरी बहुमत ल्याउनका लागि अहिलेदेखि संगठनको विभिन्न तहका नेता कार्यकर्ताले इमान्दारितापूर्वक लाग्नुपर्ने बताउनुभयो ।
नेकपा एमाले धनुषाका अध्यक्ष राजकिशोर यादवको अध्यक्षतामा भएको सो कार्यक्रममा एमालेका पोलिटव्यूरो सदस्य जुलीकुमारी महतो, मधेश प्रदेशका अध्यक्ष चन्देश्वर मण्डल, एमालेका केन्द्रिय सदस्य हरिनारायण महतोसहितका नेताहरुले कार्यकर्तालाई प्रशिक्षण दिनुभयो ।