• ११ फागुन २०८१, आइतबार

मकैको खोस्टाबाट फूल र ब्याच बनाउने तालिम

blog

फालेलुङमा आयोजित खोस्टाको फूल बनाउने तालिम समापन समारोहमा सहभागीले तयार गरेर सजाइएका सामग्री। तस्बिरः राधा लुइटेल

राधा लुइटेल 

फिदिम फागुन १० गते। पाँचथरको फालेलुङ गाउँपालिकामा सुकेको मकैका खोस्टाबाट फूल र ब्याच  बनाउने तालिम आयोजना गरिएको छ।

सात दिनसम्म चलेको तालिममा मकैका खोस्टा काटेर उपहार दिन, घर तथा कार्यालयका टेबुलमा सजाउन र कार्यक्रमका अतिथिलाई सत्कार गर्न प्रयोग हुने ब्याच निर्माण गर्न सिकाइएको गाउँपालिकाका प्रवक्ता भरत खपाङ्गी मगरले बताउनुभयो।

घरेलु तथा साना उद्योग कार्यालय पाँचथरको आयोजनामा, फालेलुङ–५ नम्बर वडा र फालेलुङ सामुदायिक होमस्टे व्यवस्थापनमा तालिम दिइएको वडाध्यक्ष मगरको भनाइछ।

तालिममा १७ जना सहभागीले मकैको खोस्टाबाट फूल र ब्याज बनाउने सीप हासिल गरेका छन्। वडाध्यक्ष मगरका अनुसार फालेलुङ गाउँपालिकामा आयातित खादा र ब्याच प्रयोग गर्न प्रतिबन्ध लगाइएको छ।

आयातित खादा र ब्याचको विकल्पमा अब खोस्टाबाट बनेको फूल र ब्याच प्रयोग गरिने तालिमको समापन समारोह प्रमुख अतिथि गाउँपालिका अध्यक्ष वीरविक्रम थाम्सुहाङले बताउनुभयो। 

‘अब खोस्टाबाट बनेको फूल गाउँपालिकाले पालिकाभित्र आयोजना हुने उत्सव, महोत्सव र सार्वजनिक कार्यक्रममा प्रयोग गर्छौ’, अध्यक्ष थाम्सुहाङले भन्नुभयो। यसअघि जिल्लाको फाल्गुनन्द गाउँपालिकाले खोस्टाको फूल बनाउने तालिम सञ्चालन गरेको थियो। 


खोस्टाबाट बुनेको आकर्षक फूल।