• १० फागुन २०८१, शनिबार

नेपालका अदालती प्रक्रिया छिट्टै अनलाइन प्रणालीबाट टुङ्गिन्छन् : न्यायाधीश फुयाल

blog

सर्वोच्च अदालतका न्यायाधीश हरिप्रसाद फुयाल नेपाल चाइना लिगल कोअप्रेसन फोरमले काठमाडौँमा आयोजना गरेको कार्यक्रममा बोल्नुहुँदै । तस्बिर : न्यूज एजेन्सी नेपाल

काठमाडौँ, फागुन १० गते । सर्वोच्च अदालतका न्यायाधीश हरिप्रसाद फुयालले नेपालका अदालती प्रक्रियाहरू पनि छिटै अनलाइन प्रणालीबाट टुङ्गो लगाउने बताउनुभएको छ ।

नेपाल चाइना लिगल कोअप्रेशन फोरमले काठमाडौँमा आयोजना गरेको कार्यक्रममा बोल्नुहुँदै उहाँले यस्तो बताउनुभएको हो । उहाँले केही समय पहिला आफू चीन भ्रमणमा गएको र त्यसताका चिनियाँ सर्वोच्च अदालतसहित केही अदालतहरूको अवलोकन गर्ने क्रममा अदालतमा सबै प्रक्रियाहरू अनलाइन प्रणालीबाट सम्पन्न हुने गरेको पाएको बताउनुभयो । उहाँले भारतमा पनि अदालतका कारबाहीहरू अनलाइनबाट हुने गरेको भन्दै नेपालमा पनि केही सुरु भएको तर पूर्ण रूपमा हुन नसकेको बताउनुभयो । अबको केही वर्षभित्रै नेपालमा पनि अनलाइनबाट अदालती कामकारबाही अगाडि बढ्ने उहाँको दाबी छ । चीन र भारतबाट यसबारे अझ विस्तृत रूपमा अध्ययन गरेर नेपालमा अदालती प्रक्रियालाई अनलाइन प्रणालीबाट प्रभावकारी व्यवस्थापन गर्नेतर्फ अग्रसर हुनुपर्नेमा जोड दिनुभयो ।

कार्यक्रममा पूर्वप्रधानन्यायाधीश कल्याण श्रेष्ठले अरू देशहरूको कानुनी प्रक्रियाबारे जानकारी नलिइकन नेपालमा पनि कानुनी पद्धतिमा निखार आउन नसक्ने बताउनुभयो । उहाँले एकनासे कानुन पद्धति कार्यान्वयन गरिरहन नसकिने जानकारी दिनुभयो । जति छ त्यत्तिमै सिमित हुनुपर्छ र यही विशेषता हो भन्नु जिद्दी मात्रै हुने बताउनुभयो । कुनै पनि देशको कानुन आफूभित्रबाट मात्रै जन्मिएको र त्यहीँ हुर्किएको र त्यहीँ टुङ्गिएको भन्ने नभएको बतउनुभयो । एक अर्काबाट पद्धतिगत अवलोकन भ्रमण गरेर त्यसको यथार्थताको बारेमा जानकारी लिनु राम्रो रहेको उहाँको भनाइ छ । 

उहाँले कानुनहरू स्थानीय हुने तर त्यसका सिद्धान्त, दर्शन, अभ्यासहरू एक अर्काबाट सिकेर फेरि विस्तारित र विकसित गर्न जरुरी हुने बताउनु भयो । लिगल कोअप्रेसनको अभ्यास महत्त्वपूर्ण आयाम भएको जिकिर गर्नुभयो ।