• १० फागुन २०८१, शनिबार

गुल्मीबाट ६४ जनाले लिए गैरआवासीय नागरिकता

blog

गैरआवसीयलाई नागरिकता प्रदान गर्दै तत्कालिन प्रमुख जिल्ला अधिकारी कृष्णप्रसाद शर्मा । तस्बिर : तिलाचन पाण्डे

तिलाचन पाण्डे
तम्घास, फागुन १० गते ।
गुल्मी जिल्लाबाट ६४ जना गैरआवासीय नेपाली नागरिकले नागरिकता लिएका छन् । २०८० कात्तिक १९ गतेबाट हालसम्म जिल्ला प्रशासन कार्यालय गुल्मीबाट ६४ जनाले गैरआवसीय नागरिकता लिएको सहायक प्रमुख जिल्ला अधिकारी हरिप्रसाद गैरेले जानकारी दिनुभयो ।

नेपालमा गत वर्षको असोज महिनाबाट गैरआवासीय नेपालीलाई नागरिकता दिन सुरु गरिएको हो । गुल्मी जिल्ला प्रशासन कार्यालयबाट २०८० कात्तिक महिनाको १९ गतेबाट गैरआवासीय नेपालीलाई नागरिकता प्रदान गर्न सुरु गरिएको गैरेले बताउनुभयो । 

गुल्मी जिल्लामा पनि नागरिकता लिने सङ्ख्या दैनिक जसो बढ्दै गएको प्रमुख जिल्ला अधिकारी जनार्दन गौतमले बताउनुभयो । जिल्लाबाट प्रवासमा रहनेको सङ्ख्या धेरै नै रहेको र नागरिकता लिनेको सङ्ख्या बढ्ने अनुमान गरिएको छ ।

गैरआवासीय नेपाली नागरिकता लिनका लागि आवश्यक कागजपत्र पूरा गरेको खण्डमा एकै दिनमा नागरिकता प्रदान गर्दै आएको कार्यालयले जनाएको छ । नेपालबाट विदेशमा गएर त्यहीको नागरिकता लिइसकेका प्रवासी नेपालीहरुले गैरआवासीय नेपाली नागरिकता लिन थालेका हुन् ।

प्रशासनका न्यून जनशक्ति रहेकाले एकै दिन धेरै गैरआवासीय नागरिकता लिन आएमा उसै दिन प्रदान गर्न नसकिने सहायक प्रमुख जिल्ला अधिकारी गैरेले बताउनुभयो । 

गैरआवासीय नेपाली नागरिकले नागरिकता प्राप्त गर्नका लागि सम्बन्धित वडाको सिफारिससहितको निवेदन, नेपाली नागरिकता त्याग गरेको प्रमाण, विदेशी मुलुकको नागरिकता, नागरिक भएको प्रमाण, सार्क सदस्य राष्ट्रवाहेकका देशमा बसोबास गरेको प्रमाण, हाल नागरिक रहेको मुलुकबाट लिएको राहदानीको प्रतिलिपिसहितका कागजात पेस गरेको खण्डमा सम्बन्धित प्रशासन कार्यालयबाट गैर आवासीय नेपाली नागरिकता प्रदान हुनसक्ने व्यवस्था रहेको छ ।

गैर आवासीय नेपाली नागरिकताको प्रमाणपत्रको हकमा राजनीतिक तथा प्रशासनिक अधिकार वाहेकका सम्पूर्ण अधिकार प्रयोग गर्न पाउने व्यवस्था रहेको छ । नेपाल नागरिकता (तेस्रो संशोधन) नियमावली २०८० लागुभएपछि गैर आवासीय नेपाली नागरिकले नागरिकता प्रमाणपत्रको व्यवस्था सुरु भएको हो ।

गैरआवासीय नागरिकताले भोट दिन, चुनाव लडन, राहदानी बनाउन पाउने छैनन् । तर सम्पत्ति राख्न, व्यापार व्यवसायमा लगानी गर्न पाउनेछन् ।