• १० फागुन २०८१, शनिबार

चापाकोटमा चार सय रोपनीमा सामूहिक आलुखेती

blog

वालिङ (स्याङ्जा), फागुन १०  गते ।  स्याङ्जाको चापाकोटका विभिन्न स्थानमा सामूहिक आलुखेती गरिएको छ । चापाकोट नगरपालिकाको वडा नं ८ र ९ का तीन वटा सहकारीमा आबद्ध कृषकहरूले झण्डै चार सय रोपनीमा सामूहिक आलुखेती गरेका हुन् ।

चापाकोटस्थित रत्नपुर साना किसान कृषि सहकारी संस्था, रत्नपुर बहुउद्देश्यीय सहकारी संस्था र नवदृष्टि कृषि सहकारी संस्थामा आबद्ध कृषकले छिपछाप, क्वामी, दिम्पा, सगुई, निर्दिम, माडी, बेल्टारीलगायत स्थानमा सामूहिक आलुखेती गरेका रत्नपुर साना किसान कृषि सहकारीका पूर्वअध्यक्ष जीवन डोटेलले बताउनुभयो ।

उहाँका अनुसार रत्नपुर बहुउद्देश्यीय सहकारी संस्थामार्फत तीन सय २० रोपनी, रत्नपुर साना किसान सहकारी संस्थामार्फत ५० रोपनी र नवदृष्टि सहकारीमार्फत २० रोपनी गरी कुल तीन सय ९० रोपनी क्षेत्रफलमा आलुखेती गरिएको हो ।

“तीन सय ९० रोपनी क्षेत्रफलमध्ये २० रोपनीमा बिउका लागि आलु लगाइएको छ”, उहाँले भन्नुभयो, “बाँकी तीन सय ७० रोपनी क्षेत्रफलमा खायन आलु लगाइएको छ ।”

सामूहिक आलुखेतीमा वडा नं ८ र ९ का झण्डै दुई सय कृषक प्रत्यक्ष सहभागी भएका उहाँले बताउनुभयो । यहाँ उत्पादन हुने आलु चिप्स बनाउने कम्पनीसित सम्झौता भएकाले बजारीकरणका लागि कुनै समस्या नरहेको उहाँले बताउनुभयो ।

“यहाँ जति मात्रामा आलु उत्पादन गरे पनि बजार पाउँदैन कि भनेर पिरोलिनुपर्ने अवस्था छैन” उहाँले भन्नुभयो, “चिप्स बनाउने कम्पनीसित आलु बिक्रीका लागि सम्झौता भएकाले हामीले आलु खनेपछि कम्पनीलाई खबर गर्छौं, कम्पनीले चलनचल्तीको भाउमा आलु खरिद गरेर लैजान्छ ।”

यसवर्ष झण्डै चार सय टन आलु उत्पादन हुने अनुमान उहाँको छ । आलु कार्यक्रमका लागि कृषि ज्ञान केन्द्र स्याङ्जाले आलुको बिउमा ५० प्रतिशत अनुदान उपलब्ध गराएको कृषि ज्ञान केन्द्र स्याङ्जाका प्रमुख विनोद हमालले बताउनुभयो । ज्ञान केन्द्रले बिउमा ५० प्रतिशत अनुदान उपलब्ध गराउनुका साथै निःशुल्क कीटनाशक विषादी तथा प्राविधिक सहयोग, यन्त्र उपकरण तथा साना सिँचाइका लागि उपकरणमा ५० देखि ७५ प्रतिशत अनुदान उपलब्ध गराएको छ ।

यसवर्ष स्याङ्जामा दुई हजार चार सय रोपनी क्षेत्रफलमा आलु खेती गरिएको छ । निर्वाहमुखी रूपमा हुँदै आएको आलु खेतीमा आधुनिकता र व्यावसायिकतामा जोड दिएसँगै कृषक आलु खेतीतर्फ आकर्षित हुँदै गएका हुन् ।

गतवर्ष स्याङ्जामा एक हजार आठ सय ५० रोपनी क्षेत्रफलमा आलु खेती गरिएकोमा यसवर्ष पाँच सय ५० रोपनी क्षेत्रफलमा आलु खेती विस्तार गरिएको हो । विगतदेखि नै निर्वाहमुखी र परम्परागत रूपमा आलु खेती गरिँदै आए पनि विगत दुई वर्षदेखि आलुमा आधुनिकीकरण र व्यावसायिकतासँगै क्षेत्रफल र उत्पादनमा वृद्धि भएको प्रमुख हमालले बताउनुभयो ।

स्याङ्जामा कृषक समूह, सहकारी व्यावसायिक फर्ममार्फत व्यक्तिगत र सामूहिक रूपमा आलु खेती गरिएको छ । जिल्लामा जनकदेव, खुमल उज्वल, कार्डिनल, एमएस ४५, रोजिटालगायत उन्नत जातको बिउ आलु लगाउने गरिएको छ । रासस