• १० फागुन २०८१, शनिबार

औद्योगिक क्षेत्रको विकासलाई प्राथमिकता दिन जरुरी : नेता भण्डारी

blog

प्रतिनिधिसभा सदस्य शंकर भण्डारी शुक्लागण्डकी–५ बेलचौतारामा आयोजित चौथो शुक्लागण्डकी महोत्सवको उद्घाटन कार्यक्रममा सहभागी हुनुहुँदै । तस्बिर : अमरराज नहर्की

अमरराज नहर्की
तनहुँ, फागुुन १० गते ।
नेपाली कांग्रेसका नेता तथा तनहुँ क्षेत्र नं. २ का प्रतिनिधिसभा सदस्य शंकर भण्डारीले औद्योगिक तथा पर्यटन विकासका लागि सरकारले प्राथमिकता दिनु पर्ने बताउनुभएको छ ।

तनहुँको शुक्लागण्डकी नगर उद्योग वाणिज्य सङ्घको आयोजनामा शुक्रबारदेखि शुक्लागण्डकी–५ बेलचौतारामा आयोजित चौथो शुक्लागण्डकी महोत्सवको उद्घाटन गर्नुहुँदै सो कुरा बताउनुभएको हो । युवाहरूलाई स्वदेशमै भुलाउनका लागि औद्योगिक क्षेत्रको विकास गरिनुपर्ने पर्यटनको माध्यमबाट ग्रामीण क्षेत्रमा आम्दानी र रोजगारीको अवसर दिनुपर्ने उहाँले बताउनुभयो ।

नेपालमा सबैभन्दा धेरै पर्यटक धार्मिक मठमन्दिरमा आउने भएकाले धार्मिक पर्यटन क्षेत्रको प्रवर्धन तथा विकासका लागि सङ्घ, प्रदेश र स्थानीय तीनै तहको सरकार लाग्नुपर्ने नेता भण्डारीले बताउनुभयो । पूर्वमन्त्री समेत रहनुभएका भण्डारीले महोत्सवले यस क्षेत्रको प्रचारप्रसारका साथै अर्थतन्त्र चलायमान बनाउन महत्त्वपूर्ण टेवा पुग्ने विश्वास व्यक्त गर्नुभयो । उहाँले जनताका गुनासा एकै पटक सम्बोधन गर्न नसकिने बताउदै क्रमशः गर्दै जाने प्रतिवद्धता व्यक्त गर्नुभयो ।

गण्डकी प्रदेशसभा सदस्य जीतप्रकाश आले प्रदेश सरकारले सञ्चालन गरेका पूर्वाधार योजनालाई समयमै सम्पन्न गर्न सरकारको ध्यानाकर्षण गराइरहेको बताउनुभयो । गण्डकी प्रदेशसभा सदस्य श्यामराजा महतले महोत्सवमा विदेशी यातातित समान बिक्री नगई स्वदेशी समान बिक्री गरेर स्थानीय उद्यमीको प्रोत्साहन गरिनुपर्ने बताउनुभयो । महोत्सव मुल समारोह समितिका संयोजक समुन्द्रराम श्रेष्ठ आर्थिक मन्दीले गर्दा व्यवसाय धराशायी भएकाले चलायमान गराउन महोत्सवको आयोजना गरिएको बताउनुभयो । फागुन २० गतेसम्म सञ्चालन हुने महोत्सवमा घरेलु, कृषि, व्यवसायीक, रेस्टुरेन्ट, सामाजिक संस्थालगायत कुल एक सय ७५ स्टल समावेश गरिएको महोत्सवका प्रवक्ता  सुजन श्रेष्ठले जानकारी दिनुभयो ।