निशा राई
धरान, फागुन १० गते । १३ औँ धरान १०–के रनको खुला उपाधी पुरुषतर्फ केन्याका धावक ह्विल्सन चेउलियोट र महिलातर्फ केन्याकै शरन जेरोटिस प्रथम हुनुभएको छ ।
“शिक्षाको निम्ति च्यारेटी दौड’’नाराको साथ शनिबार भएको धरान रनको १० किलोमिटर दूरी चेयुलियोटले ३० मिनेट ५५ सेकेन्डमा पूरा गरेको छ भने जेरोटिचले ३८ मिनेट ४२ सेकेन्डमा दूरी दौड पूरा गर्दै विजेता बन्नुभएको हो । करिब चार हजार सात सय सहभागी दौड नेपालकै सर्वाधिक धेरै धावक धाविकाहरूको सहभागीसहित गायकार राजु लामा र नरेन लिम्बुको पनि उपस्थिति रहेको थियो ।
पुरुषतर्फ केन्याकै जुलियस मार्युकीले ३१ मिनेट ८ सेकेन्डमा दौड पूरा गर्दै दोस्रो हुनुभएको छ भने दुर्गाबहादुर बुद्धले ३२ मिनेट ४४ सेकेन्डमा दौड पूरा गर्दै तेस्रो हुनुभएको छ । महिलातर्फ सुमित्रा कुमारी चौधरीले ३९ मिनेट २८ सेकेन्डमा दूरी पार गर्दै दोस्रो हुनुभयो । दिपा परियारले ३९ मिनेट ५९ सेकेन्डमा दौड पूरा गर्दै तेस्रो हुनुभयो ।
महिला र पुरुष दुवैका प्रथम, दोस्रो र तेस्रो विजेताहरूले क्रमशः नगद ६० हजार, ४० हजार र ३० रुपियाँ पुरस्कार पाउनुभयो । विजेतालाई धरान उपमहानगरपालिकाको प्रमुख हर्कराज राईले पुरस्कार प्रदान गर्नुभएको थियो ।
यसैगरी, अन्डर १६ उमेर समूहमा पुरुषतर्फ ईश्वर राई प्रथम, सुवासकुमार बि.के. दोस्रो र बिकी यादव तेस्रो हुनुभयो भने महिलातर्फ जुही राई प्रथम कुसुल राई दोस्रो र पूजा महतर तेस्रो हुनुभएको थियो ।
भेट्रान पुरुषतर्फ विजय कुमार राई प्रथम, राकेश महर्जन दोस्रो र राम चन्द्र श्रेष्ठ तेस्रो हुनुभएको थियो भने भेट्रान महिलातर्फ जमुना लिम्बु प्रथम, सपना राई दोस्रो र सम्झना राई तेस्रो हुनुभएको थियो ।
सुपर भेट्रान पुरुषतर्फ विजय कृष्ण तामाङ प्रथम, विजय सागर दनुवार दोस्रो र शिव कुमार राई तेस्रो हुनुभएको थियो भने सुपर भेट्रान महिलातर्फ जमुना त्रिखत्रि मोक्तान प्रथम, बिष्णुमाया याक्खा वानेम दोस्रो र मनसा रार्ई तेस्रो हुनुभएको थियो ।
मिड भेट्रान पुरुषतर्फ धर्म महर्जन प्रथम, सुवर्न सुब्बा दोस्रो र नाम्पर लेप्चा तेस्रो हुनुभएको थियो भने मिड भेट्रान महिला अनुदा तामाङ प्रथम, होमादेवी पुन दोस्रो र सान्ता वानेम तेस्रो हुनुभएको थियो । अण्डर १६, भेट्रानलगायत प्रतिस्पर्धामा प्रथम, दोस्रो र तेस्रो विजेताहरूलाई नगद सात हजार, पाँच हजार र तीन हजार रुपियाँसहित मेडल, प्रमाणपत्र प्रदान गरिएको थियो ।
ह्वीलचेयरतर्फ प्रथम, दोस्रो र तेस्रो हुनेले क्रमशः सात हजार, पाँच हजार र तीन हजार रुपियाँ, मेडल र प्रमाणपत्र प्रदान गर्नुभएको थियो । साथै सुपर भेट्रान विजेता तथा उपविजेताले गिफ्ट भौचर प्राप्त गर्नुभएको थियो ।
यस तेह्रौं संस्करणमा खेलकुदमय, जनचेतनामुलक कार्यक्रमसहित ह्विलचेयर रेससहित विगतभन्दा फरक र भव्य रूपले मनाउन नेपालकै धैरै धावकधाविकाको सहभागी रहेको धरान रनको संस्थापक सन्तोष राईले बताउनुभयो । यस रनमा हरेक उमेर समूहका महिला तथा पुरुषहरूको शारीरिक तथा मानसिक पक्षको विकास तथा सबलताका लागि दौडको माध्यमद्वारा निरोगी एवम् स्वस्थ गराउने उद्देश्यले यस संस्थाको स्थापना गरेको उहाँले बताउनुभयो ।
राष्ट्रिय तथा अन्तर्राष्ट्रिय धावकधाविकाहरू सहभागी हुने यस च्यारेटी प्रतियोगिताबाट सङ्कलित रकम अपाङ्ग असहाय महिला बालबालिकाको स्वास्थ्य र शिक्षाका लागि अक्षयकोष खडा गरी सहयोग गर्दै आएको धरान रनको अध्यक्ष रमु राईले बताउनुभयो । यस पालीको च्यारेटी रनबाट उठ्ने रकम शिक्षामा समर्पित गरी अक्षय कोष अझ बढाइ जेहेन्दार–विपन्न विद्यार्थीको छात्रवृत्तिलाई निरन्तरता दिइने उहाँले बताउनुभयो । सहभागीहरूलाई टाइमिङ चिप प्रयोग गरेर दौडको समय मापन गरिएको धरान रनका अध्यक्ष राईले जानकारी दिनुभयो ।
दौड रुट अनुसार बिहान साढे ७ बजे पुतली लाइनदेखि सुरु गरी देशी लाईन, पुरानो बजार, पिण्डेश्वर मन्दिर, विजयपुर चाेक, हातिसार क्याम्पस, रेडक्रस भवन, अमरहाट कभर्ड हल , जिरो प्वाइन्ट, जानकी चोक, धरान रङ्गशाला, गणेशमान चाेक, पानी टेङ्की, कल्याण चाेक, मङ्गलबारे, रत्न चाेक, बुद्ध चोक, दुर्गा चोक हुँदै पुतली लाइन, भानुचाेकमा आई समापन भएको थियो ।