प्रतीक इच्छुक शर्मा
सल्यान, फागुन १० गते । सल्यान जिल्ला अस्पतालमा कार्यरत करार सेवाका १७ जना स्वास्थ्यकर्मी पाँच महिनादेखि तलबविहीन बनेका छन् । कर्णाली प्रदेश सरकारले आवश्यक बजेट नपठाउँदा उनीहरूले तलब पाएका छैनन् ।
गत असोजदेखि तलब नपाउँदा दैनिक खर्च टार्न र परिवार पाल्नै नसक्ने अवस्थामा पुगेको कर्मचारीले बताउने गरेका छन् । अस्पतालका विभिन्न सेवा शाखामा कार्यरत स्वास्थ्यकर्मी, कर्मचारी तथा कार्यालय सहयोगीले पटक पटक तलब मागे पनि कुनै सुनुवाइ नभएको गुनासो गरेका छन् । ल्याब असिस्टेन्ट अञ्जना रानाले आफू नौ वर्षदेखि अस्पतालमा कार्यरत रहेको बताउँदै तलब रोकिएपछि गम्भीर आर्थिक समस्यामा परेको बताउनुभयो । उहाँले भन्नुभयो, “रातदिन खटिएर बिरामीको सेवा गरिरहेका छौँ तर महिनौँसम्म तलब नपाउँदा घरबाट खर्च लिएर काम गर्न बाध्य छौँ, कहिलेसम्म यसरी काम गर्न सकिन्छ ।”
नर्स, ल्याब टेक्निसियन, फार्मेसी सहायक, एक्सरे टेक्निसियन, कार्यालय सहायक, वार्ड सहायक जस्ता विभिन्न पदमा कार्यरत करार कर्मचारीले महिनौँसम्म तलब नपाउँदा जीवनयापन गर्न कठिन भएको बताएका छन् ।
करार सेवाका कर्मचारीले पटक पटक अस्पताल प्रशासन हुँदै प्रदेश सरकारसम्म तलबका लागि माग गरेका छन् तर कुनै पनि ठोस पहल नभएपछि अब आन्दोलनमा जानुपर्ने अवस्था आएको उनीहरू बताउँछन् । कतिपय कर्मचारीले अस्थायी रूपमा अन्य ठाउँमा जागिर खोज्न थालेका छन् भने केहीले काम छोड्ने सोच बनाइसकेका छन् । अस्पताल प्रशासनले पनि कर्मचारीले काम छोड्न थालेपछि अस्पतालको सेवा नै प्रभावित हुने बताएको छ ।
स्वास्थ्य सेवा कार्यालय सल्यानका प्रमुख डा. अर्जुन बुढाले यस विषयमा पटक पटक प्रदेश सरकारलाई जानकारी गराइएको बताउनुभयो । उहाँले धेरै पटक पत्राचार गरिसकेको भन्दै अहिलेसम्म बजेट नआएकाले कर्मचारीलाई तलब दिन नसक्दा अप्ठ्यारो परेको जानकारी दिनुभयो । उहाँका अनुसार अस्पतालमा जनशक्ति अभावका कारण सेवा नियमित रूपमा सञ्चालन गर्न कठिन भइरहेको छ । पहिल्यै जनशक्ति कम छ । अहिले तलब नपाउँदा कर्मचारी हतोत्साहित भइरहेका छन् । कतिपयले काम छोड्ने सङ्केत गरेका छन् । यस्तो अवस्थामा अस्पतालको सेवा प्रभावित हुने पक्का छ ।
यता कर्णाली प्रदेशका सामाजिक विकासमन्त्री घनश्याम भण्डारीले सङ्घीय सरकारबाट आउने बजेट कटौती भएकाले प्रदेश सरकारले आवश्यक रकम पठाउन नसकेको बताउनुभयो । उहाँले कर्णालीका अन्य जिल्ला अस्पतालमा पनि यही समस्या रहेको भन्दै बजेटको माग अर्थ मन्त्रालयसँग भइरहेको जानकारी दिनुभयो । बजेट थप भएमा करार सेवाका कर्मचारीलाई तलब दिइने उहाँको भनाइ छ ।