जीवछ यादव
लहान, फागुन ८ गते । मधेश प्रदेशका गृह, सञ्चार तथा कानुनमन्त्री मधेश प्रदेश सरकारका प्रवक्ता राजकुमार लेखीले नवराजपुर गाउँपालिका–१ भगवतीपुरकी बलात्कृत भई मृत्यु भएकी रिङ्कु सदायकी परिवारलाई भेटेर दोषीलाई कानुनको कठघारामा ल्याइछाड्ने प्रतिबद्धता व्यक्त गर्नुभएको छ ।
बिहीबार रिङ्कुको बुवा बिजुली सदायलाई घरमै भेटेर घट्नाको विवरण लिँदै यस्तो प्रतिबद्धता व्यक्त गर्नुभएको हो । मन्त्री लेखीले घटनाबारे मृतक रिङकुको बुवा बिजुली सदायसँग जानकारी लिनुभएको छ । रिङ्कुको माघ २७ गते शौच गर्नका लागि घरबाहिर गएका बेला बलात्कार भएको थियो ।
गाउँकै रुपेश मण्डल, चन्दन साहर, राम बिनय मण्डलले बलात्कार घटनामा संलग्न रहेको पीडितको बयान छ । पछि उहाँले आत्महत्या गर्नुभयो । उहाँका बुवा छोरीको विवाहका लागि तयारी गर्नुभएको थियो । तर घटनाले उहाँलाई आहात पारेको छ । छोरीको घटनामा संलग्नलाई कारबाही हुनुपर्ने माग उहाँले गर्नुभएको छ ।
“दोषीलाई पक्राउ गरेर जेल हाल्नुपर्छ यही हाम्रो माग हो” रिङ्कुको बुवा बिजुली सदायले मन्त्री लेखीसँग आग्रह गनुभयो । घट्नामा संलग्नलाई कानुनी कठघरामा उभ्याउन प्रहरीले सक्रियता देखाउनुपर्ने मन्त्री लेखीले निर्देशन दिनुभयो ।