• ९ फागुन २०८१, शुक्रबार

शत प्रतिशतलाई एचपिभी खोप

blog

एचपिभि खोप लगाइ सके पश्चात सामूहिक तस्बिर । तस्बिर : रमेश कुमार वोगटी

रमेश कुमार वोगटी 

कालीकोट, फागुन ८ गते । जिल्लामा पहिलो पटक किशोरीहरुलाई पाठेघरको मुखको क्यान्सर विरुद्धको खोप लगाइएको छ । स्वास्थ्य कार्यालय कालीकोटको आयोजनामा जिल्लाका विभिन्न विद्यालयमा लक्षित समुहका शतप्रतिशत बालिका र किशोरीलाई पाठेघरको मुखको क्यान्सर विरुद्धको एचपिभी खोप लगाइएको छ । 

स्वास्थ्य कार्यालयका सुचना अधिकारी कटक वहादुर महतले कालीकोटमा माघ २२ गते वाट सुरु गरिएको एचपिभी खोप अभियान अन्तर्गत नौ हजार दुई सय ३८ बालिका तथा किशोरीहरुलाई खोप लगाउने लक्ष्य निर्धारण गरिएकोमा आठ हजार आठ सय १४ बालिका तथा किशोरीहरुलाई अर्थात ९८.५३ प्रतिशतलाई खोप लगाइएको जानकारी दिनुभयो। उहाँले सबैभन्दा बढी जिल्लाको सदरमुकाम समेत रहेको खाँडाचक्र नगरपालिकामा लक्ष्यभन्दा १००.८१ प्रतिशत बालिका तथा किशोरीहरुलाई एचपिभी खोप लगाइएको बताउनुभयो । खाँडाचक्रमा एक हजार एक सय १५ जनालाई खोप लगाउने लक्ष्य रहेकोमा एक हजार एक सय २४ जनालाई खोप लगाइएको छ । 

विकासका हिसाबले पछाडि परेको भनिएको जिल्लाको पलाता गाउँपालिकामा एचपिभि खोप १००.०९ प्रतिशत बालिकाले लगाएका जिल्ला स्वास्थ्य कार्यालय कालीकोटका निमित्त प्रमुख डा. भिष्म प्रसाद पोखरेले जानकारी दिनु भयो । उहाँका अनुसार पलातामा  एक हजार एक सय ४४ जनालाई खोप लगाउने लक्ष्य रहेकोमा एक हजार एक सय ४५जनाले खोप लगाएका छन् । 

पचालझरना गाउँपालिका, रास्कोट नगरपालिका, सान्नित्रिवेणी गाउँपालिका र महावै गाउँपालिकामा १०० प्रतिशत बालिका तथा किशोरीहरुले खोप लगाएको स्वास्थ्य कार्यालय कालीकोटले जनाएको छ । त्यसै गरी नरहरिनाथ गाउँपालिकामा ९८ प्रतिशत,तिलागुफा नगरपालिकामा ९६ प्रतिशत र शुभकालिका गाउँपालिमा ९१.७७ प्रतिशत बालिकाले खोप लगाएका छन् ।

जिल्ला खोप ब्यवस्थापन समन्वय समितिका सचिव डा. भिष्म प्रसाद पोखरेलले जिल्लाका नौ हजार दुई सय ३८ बालिका तथा किशोरीलाई खोप लगाउने लक्ष्य निर्धारण गरि माघ २२ गतेबाट सुरु गरिएको खोप अभियान लाई नौ पालिकालाई तिन चरणमा विभाजन गरेर खोप लगाउने कार्य गरिएकोे बताउनुभयो । फागुन ६ गतेसम्म सञ्चालन गरिएको सो अभियान अन्तर्गत जिल्लामा कक्षा ६ देखि १० सम्मका बालिका र विद्यालय बाहिरका १० देखि १४ वर्ष उमेरका बालिका तथा किशोरीहरुलाई उक्त खोप लगाईएको थियो । 

नेपाली महिलाहरूमा हुने विभिन्न क्यान्सरमध्ये पाठेघरको मुखको क्यान्सर दोस्रो स्थानमा रहेको छ । केही मानिहरुमा अशिक्षा, अज्ञानता, रोग र भोग भन्ने शब्दको पर्यायवाची जस्तै बनको कालीकोट जिल्लामा पनि पाठेघरको मुखको क्यान्सर नियन्त्रण गर्नका लागि पहिलो पटक नै जिल्लामा लगाइएको एचपिभि खोपमा ९८.५३ प्रतिशत लक्ष्य हासिल गर्नु नै खोपमा उत्साहका साथ बालिका तथा किशोरीहरुको सहभागिता रहेको सरोकारवालाहरुको भनाइ छ।