• ९ फागुन २०८१, शुक्रबार

रुपा गाउँपालिकाले चार दिन स्थापना दिवस मनाउने

blog

स्थापना दिवस मनाउनेबारे जानकारी दिन रुपा गाउँपालिकाले आयोजना गरेको पत्रकार सम्मेलन । तस्बिर : माधवप्रसाद बराल

माधवप्रसाद बराल
माछापुच्छ्रे (कास्की), फागुन ७ गते ।
कास्कीको रुपा गाउँपालिकाले विविध कार्यक्रम गरी स्थापना दिवस मनाउने भएको छ । आगामी फागुन २४ देखि २७ गतेसम्म स्थापना दिवस मनाउने तयारी गरिएको रुपा गाउँपालिकाका अध्यक्ष नवराज ओझाले बुधबार पोखरामा आयोेजित पत्रकार सम्मेलनमा जानकारी दिनुभयो ।

उहाँका अनुसार स्थापना दिवसको अवसरमा २०७५ सालदेखि निरन्तर गर्दै आएको अध्यक्ष कप भलिबललाई यस वर्ष पनि आयोजना गरिएको छ । वडास्तरीय पुरुष भलिबलमा रुपा गाउँपालिका बाहेकका अन्य खेलाडी सहभागी हुन नपाउने उहाँले बताउनुभयो । गाउँपालिकाभित्र बसोबास गर्ने विभिन्न जातजाति र समुदायहरुको भाषा, धर्म, संस्कृति संरक्षण र संवर्धन गर्न झाँकी प्रदर्शन प्रतियोगिता हुने उहाँले बताउनुभयो ।

झाँकी प्रदर्शन प्रतियोगितामा करिब ३० समूह सहभागी हुने र प्रत्येक समूहले पाँच वटा माला समावेश गर्ने गरी माला प्रतियोतिा पनि समावेश गरिएको अध्यक्षले ओझाले जानकारी दिनुभयो । दिवसका अवसरमा जैविक विविधतासम्बन्धी कृषि प्रदर्शनीमा रुपामा उत्पादन भएको महको चाका खाने कार्यक्रम, स्थानीय स्तरका रैथाने बाख्रा र रैथानी बाली प्रदर्शनीसमेत हुनेछ । किसानलाई प्रोत्साहन गर्न कृषि पेशामा उत्कृष्ट रहेका किसानहरुलाई नगद पाँच हजारसहित सम्मान गरिनेछ ।

स्थापना दिवसको अवसरमा आयोजना गरिएको पुरुष भलिबलमा प्रथम हुनेलाई ७७ हजार ७ सय ७७, द्वितीयलाई ५५ हजार पाँच सय ५५ र तृतीयलाई ३३ हजार तीन सय ३३ रुपियाँ पुरस्कार व्यवस्था गरिएको छ । त्यसगरी बेस्ट प्लेयरलाई नगद पाँच हजार, बेस्ट सेटरलाई दुई हजार र बेस्ट स्पाइकरलाई दुई हजार नगद प्रदान गरिनेछ ।

झाँकी प्रदर्शनी प्रतियोगितामा प्रथमलाई ३० हजार, द्वितीयलाई २० हजार, तृतीयलाई १० हजार र सान्त्वनालाई पाँच हजार नगद पुरस्कार राखिएको अध्यक्षले ओझाले बताउनुभयो । माला प्रतियोगितामा प्रथमलाई ६ हजार, द्वितीयलाई चार हजार र तृतीयलाई दुई हजार पुरस्कार प्रदान गरिनेछ ।

फागुन २४ गते स्थापना दिवसको अवसरमा आयोजित कार्यक्रमको उद्घाटन गरिने र २७ गते मूल समारोह हुने गाउँपालिकाका प्रशासन शाखा प्रमुख लोकनाथ पौडेलले बताउनुभयो । रुपा गाउँपालिकाले पालिकाको विकास र समृद्धिमा सहयोग पुर्‍याउने सामाजिक व्यक्तित्व, विद्यावारिधि, एमडी, गरेका विभिन्न व्यक्तिलाई रुपा रत्नबाट सम्मान गर्दै आएकोमा यस वर्ष पनि निरन्तरता दिइएको छ । 

कार्यक्रमलाई व्यवस्थित बनाउन गाउँपालिका उपाध्यक्ष लालसुब्बा गुरुङको संयोजकत्वमा मूलसमिति र अन्य विभिन्न चार वटा समिति गठन गरेर तयारी सुरु गरिएको अध्यक्ष ओझाको भनाइ छ । पूर्वाधारको विकासको साथ साथै कृषि र पशुपालनलाई प्राथमिकतामा राखेर दीर्घकालीन स्वरोजगारका योजना तथा कार्यक्रम रुपाले गर्दै आएको छ ।