नारद कोहार
तौलिहवा (कपिलबस्तु), फागुन ५ गते । बृहत् यौनिकता शिक्षालाई स्थानीय पाठ्यक्रममा समावेश गर्ने सरोकारवालाहरुले प्रतिबद्धता जनाएका छन् । तौलिहवामा स्थानीय तहका नीतिमा बृहत् यौनिकता शिक्षालाई एकीकृत र दिगोपनको विकास योजना स्थानीय सरकारसँगको परामर्श कार्यशाला गोष्ठीमा उक्त प्रतिबद्धता जनाइएको हो ।
बृहत् यौनिकता शिक्षालाई नियमित शिक्षामा समावेश गर्ने उद्देश्यले जिल्लामा रहेका स्थानीय तहका निति निर्माणकर्ताहरुलाई अभिमुखीकरण गर्ने र आगामी बर्षहरुमा स्थानीय तहरुले नै अपनत्व लिई कार्यान्वयन गर्ने उद्देश्यले कार्यक्रमको आयोजना गरिएको हो ।
कार्यक्रममा बोल्दै जिल्ला समन्वय समितिका प्रमुख बाबुराम आचार्यले बृहत् यौनिकता शिक्षालाई पालिकाहरुले निर्माण गर्ने पाठ्क्रमहरुमा समाबेश गर्नुपर्ने बताउनुभयो । विद्यालयमा स्वास्थ्य विषय पढाउने शिक्षकहरुलाई पनि बृहत् यौनिकता शिक्षाबारे तालिमहरु दिनुपर्ने उहाँको भनाइ छ । बृहत् यौनिकता शिक्षाको उपयोगिताको बारेमा युवा सञ्जाल, बाल सञ्जालहरुलाई परिचालन गरी प्रभावकारी रुपमा कार्यान्वयन गर्नुपर्ने प्रमुख आचार्यले बताउनुभयो ।
कार्यक्रममा कपिलबस्तु नगरपालिकाका नगर प्रमुख सुदीप पौडेलले पालिकाको नीति कार्यक्रमहरुमा यौनिकता शिक्षालाई समावेश गर्ने बताउनुभयो ।
शिक्षा विकास तथा समन्वय इकाई कपिलवस्तुका प्रमुख लोकनाथ मरासिनीले तालिमले यौन तथा प्रजनज स्वास्थ्यको सवालमा केही भए पनि मद्दत मिल्ने बताउनुभयो । उहाँले जिल्लाको दक्षिणी क्षेत्रका विद्यालयहरुमा आधाभन्दा बढी विद्यार्थीहरु अनुपस्थित हुनु दुःखद कुरा भएको बताउनुभयो ।
कार्यक्रममा गैर सरकारी संस्था महासंघ लुम्बिनी प्रदेशकी अध्यक्ष सुशीला बेलबासेले यौनिकता शिक्षालाई विद्यालयहरुमा पनि लागु गर्नुपर्ने बताउनुभयो । नेपाल परिवार नियोजन संघ र युएनएफपिएको आयोजनामा उक्त कार्यक्रम गरेको हो ।
नेपाल परिवार नियोजन संघका जिल्ला अध्यक्ष विकास पोख्रेलको अध्यक्षतामा भएको कार्यक्रमको सञ्चालन बसन्त खनालले गर्नुभएको थियो । कार्यक्रम विभिन्न स्थानीय तहका स्वास्थ्य, शिक्षा तथा महिला बालबालिका शाखाका प्रमुख लगायतको सहभागिता थियो ।