• ७ वैशाख २०८२, आइतबार

रेसुङ्गाबाट उडान अन्योल

blog

रेसुङ्गा विमानस्थलबाट उडान भर्दै जहाज । फाइल तस्बिर

तम्घास समाचारदाता

तम्घास, फागुन ५ गते  । दुई महिनादेखि गुल्मीको रेसुङ्गा विमानस्थलबाट नियमित उडान हुन सकेको छैन । अहिले नेपाल एयरलाइन्सको जहाज मर्मत हुँदै गरेकाले अन्य जहाज नभएका कारण नियमित उडान हुन नसकेको विमानस्थलका स्टेसन प्रमुख सुमन थापाले बताउनुभयो । पछिल्लो समय पुस ४ गते मात्रै विमानस्थलबाट उडान भएको  र अहिले उडान हुन नसकेको थापाले बताउनुभयो । विमानस्थलबाट अझै केही समय उडान हुन नसक्ने उहाँको भनाइ छ । 

पहिले हप्ताको एक दिन शुक्रबार मात्रै उडान भर्दै आएको जहाजले यात्रुको अत्यधिक चाप बढेपछि साप्ताहिक तीन उडानको अनुमति पाएको थियो । वर्षायाम सुरु भएपछि पछिल्लो समय हप्ताको एक दिन शुक्रबार मात्रै उडान गर्ने गरी कार्यतालिका रहेको थापाले बताउनुभयो । पछिल्लो समय यात्रुको चापलाई ध्यानमा राखेर हप्ताको शुव्रmबार र बुधबार दुई दिन उडान गर्ने कार्यतालिका रहेको थापाले बताउनुभयो । हवाई यात्रामा गुल्मी जोडिएसँगै फ्रान्स र स्पेनबाट पनि पर्यटकहरू घुम्नका लागि गुल्मी आएको रेसुङ्गा नगरपालिका गुल्मीले जनाएको छ ।

जिल्ला सदरमुकाम तम्घासबाट करिब पाँच किलोमिटर कच्चीबाटोपछि विमानस्थल पुग्न सकिन्छ । विमानस्थलबाट गत वर्षको वैशाख २९ गतेदेखि व्यावसायिक उडान सुरु गरिएको थियो ।