गोविन्द शर्मा
बाँके, फागुन ४ गते । लुम्विनी प्रदेश सरकारले वन्यजन्तुको आक्रमणबाट ज्यान गुमाउनुभएका परिवारका सदस्यहरुलाई पुनः राहत रकम उपलब्ध गराउन सुरु गरिएको छ ।
यसअघि केही बर्ष राहत बितरणको काम रोकिएकोमा प्रदेश सरकारले बाँकेबाट पुनः राहत बितरणको सुरुवात गरेको हो । आइतबार लुम्विनी प्रदेशका वन तथा वाताबरण मन्त्री देवकरणप्रसाद कलवारले बाँकेको खजुरा गाउँपालिकामा चितुवाको आक्रमणले ज्यान गुमाएका दुई बर्षिया बालिका लक्ष्मी पुनकी आमा सीता पुनलाई प्रदेश सरकारको तर्फबाट १० लाख रुपियाँको चेक हस्तान्तरण गर्नुभयो ।
बाँकेको खजुरा ६ की पुनको घर आँगनमा खेल्नेक्रममा गत भदौं ३० गते चितुवाले बेपत्ता बनाएकोमा २ दिनपछि शव फेला परेको थियो । सो अवसरमा मन्त्री कलवारले प्रदेश सरकारले वन्यजन्तुको आक्रमणमा परी ज्यान गुमाएका ब्यक्तिका परिवार र पशुचौपाया क्षति भएका ब्यक्तिलाई राहत वितरण थालिएको बताउनुभयो ।
मन्त्री कलवारले भन्नुभयो, ‘प्रदेश सरकारले वन्यजन्तु आक्रमणबाट ज्यान गुमाएका परिवारका सदस्यलाई राहत दिनका लागि यो कार्यक्रम ल्याएको हो ।’ सरकारले वन्यजन्तु संरक्षणसँगै यसका चुनौती समाधानमा समेत लागिपरेको उहाँको भनाइ छ ।आइतबार बाँकेको राप्ती–सोनारी, कोहलपुरर बैजनाथ गाउँपालिकाका बन्यजन्तु पीडितलाई समेत राहत वितरण गरिएको छ ।
पशु चौपायामा भएको क्षतिको मुल्याङ्कनअनुसार प्रदेशबाट राहत उपलब्ध हुने गरेको छ । खजुरा गाउँपालिकाका अध्यक्ष डम्बरबहादुर विकले वन्यजन्तुपीडितलाई राहत उपलब्ध हुनु सकारात्मक भएको भन्दै मानवीय सुरक्षालाई प्राथमिकता दिनुपर्ने बताउनुभयो ।