तिलाचन पाण्डे
तम्घास, फागुन ४ गते । विगत दुई महिनादेखि गुल्मीको रेसुङ्गा विमानस्थलबाट नियमित उडान हुन सकेको छैन । अहिले नेपाल एयरलाइन्सको जहाज मर्मत हुँदै गरेकाले अन्य जहाज नभएका कारण नियमित उडान हुन नसकेको विमानस्थलका स्टेसन प्रमुख सुमन थापाले बताउनुभयो ।
पछिल्लो समय पुस ४ गते मात्रै विमानस्थलबाट उडान भएको र अहिले उडान हुन नसकेको थापाले बताउनुभयो । विमानस्थलबाट अझै केही समय उडान हुन नसक्ने उहाँको भनाइ छ ।
पहिले हप्ताको एक दिन शुक्रबार मात्रै उडान भर्दै आएको जहाजले यात्रुको अत्यधिक चाप बढेपछि साप्ताहिक तीन उडानको अनुमति पाएको थियो । वर्षायाम सुरु भएपछि पछिल्लो समय हप्ताको एक दिन शुक्रबार मात्रै उडान गर्ने गरी कार्यतालिका रहेको थापाले बताउनुभयो । पछिल्लो समयमा यात्रुहरूको चापलाई दृष्टिगत गर्दै हप्ताको शुकबार र बुधबार दुई दिन उडान गर्ने कार्यतालिका रहेको थापाले बताउनुभयो ।
काठमाडौँबाट बिहान ६ बजेर ३० मिनेट र रेसुङ्गाबाट काठमाडौँका लागि बिहान ७ बजेर ४५ मिनेटमा उडान हुने कार्यतालिका रहेको उहाँले बताउनुभयो । हवाई यात्रामा गुल्मी जोडिएसँगै फ्रान्स र स्पेनबाट पनि पर्यटकहरू घुम्नका लागि गुल्मी आएको रेसुङ्गा नगरपालिका गुल्मीले जनाएको छ।
हाल गुल्मीबाट काठमाडौँका लागि सात हजार तीन सय र काठमाडौँबाट गुल्मीका लागि सात हजार पाँच सय रुपियाँ भाडा कायम गरेको स्टेसन प्रमुख थापाले बताउनुभयो । जिल्ला सदरमुकाम तम्घासबाट करिब पाँच मिलोमिटर कच्चीबाटो पछि विमानस्थल पुग्न सकिन्छ । विमानस्थलबाट गतवर्षको वैशाख २९ गतेबाट व्यावसायिक उडान सुरु गरिएको थियो ।