लीलाधर वली
घोराही, फागुन ४ गते । स्वर्गद्वारी गुठी पीडित किसानले घोराहीमा रहेको मालपोत कार्यालयमा धर्ना दिएका छन् । सरकारसँग विगतमा भएको सहमती कार्यान्वयन हुनुपर्ने माग राख्दै आन्दोलनरत मोही किसानले आइतबार बिहान दस बजेदेखि घोराहीमा रहेको मालापोत कार्यालय घोराहीको गेटमा धर्ना दिएका हुन् ।
स्वर्गद्वारी आश्रमको जग्गामा भएको द्वोयध स्वामित्व अन्त्य हुनुपर्ने, गुठी जग्गालाई रैकर गर्नुपर्ने, मोही किसानलाई जग्गा दिनुपर्नेलगायतका माग राख्दै किसानले कार्यालयको गेटमा नाराबाजीसहित धर्ना दिएका हुन् । सरकारले विगतमा किसानसँग गरेको सम्झौता कार्यान्वयन नगरेका कारण दबाब स्वरूप आन्दोलन गर्नुपरेको गुठिपीडित किसान सङ्घर्ष समितिका अध्यक्ष प्रभु चौधरीले जानकारी दिनुभएको छ ।
किसानहरूको चरणबद्ध आन्दोलनका कार्यक्रमअनतर्गत मालपोत कार्यालयमा धर्ना दिएको भन्दै अध्यक्ष चौधरीले भन्नुभयो, "किसानका समस्या सम्बाेधनका लागि सम्बन्धित निकायलाई ध्यानाकर्षण गराउनका लागि धर्ना दिएका छौं ।"
गुठी पीडित किसानको धर्नाका कारण मालपोत कार्यालयमा कर्मचारी प्रवेश गर्न पाएका छैनन् । मोही किसान धर्नामा बसेपछि सुरक्षाका लागि प्रहरी खटाइएको जिल्ला प्रहरी कार्यालय दाङका प्रवक्ता एवं प्रहरी नायव उपरीक्षक चक्रबहादुर शाहले जानकारी दिनुभएको छ । सरकारसँग भएका भएका सहमति कार्यान्वयनको माग गर्दै माघको २० गतेदेखि स्वर्गद्वारी गुठी पीडित किसान आन्दोलनरत छन् ।
स्वर्गद्वारी आश्रमअन्तर्गत दाङका विभिन्न ठाउँमा भएको एक हजार ५० विगाह जग्गामध्ये ७ सय ५३ बिघामा मोही रहेको छ भने उक्त जग्गामा ३ हजार ५ घरधुरीका १५ बढी घरधुरी किसानले बसोवास गर्दै आएका छन् ।