सन्तोष दहित
दाङ, फागनु ४ गते । कार्यसम्पादन सूचकमा देशभरका उपमहानगरपालिकामध्ये घोराही उपमहानगरपालिका उत्कृष्ट भएको छ । उपमहानगरपालिकामध्ये सबैभन्दा बढी अङ्क दाङको घोराही उपमहानगरपालिकाले पाएको हो ।
आगामी आर्थिक वर्ष २०८२-८३ का लागि सङ्घीय सञ्चित कोषबाट तल्ला तहमा प्रदान गरिने वित्तीय समानीकरण अनुदान सिफारिसका लागि तयार गरिएको कार्यसम्पादन सूचकमा देशभरका उपमहानगरपालिकामध्ये सबैभन्दा बढी अङ्क दाङको घोराही उपमहानगरपालिकाले पाएको छ ।
सूचकमा घोराही उपमहानगरपालिकाले कुल १०० अङ्कमा ६६.९ अङ्क पाएको छ । योसँगै कार्यसम्पादनमा घोराही उपमहानगरपालिका देशकै उत्कृष्ट उपमहानगरपालिकामा परेको हो । त्यसैगरी प्रदेशमा सुदूरपश्चिमले ५१.६, महानगरमा भरतपुरले, ७६.२, नगरपालिकामा अमरगढीले ८१.७ र गाउँपालिकामा नेत्रावती डबजोङले ७८.२ अङ्क पाएका छन् ।
राष्ट्रिय प्राकृतिक स्रोत तथा वित्त आयोगले तयार गरेको यो कार्यसम्पादन मूल्याङ्कनले प्रदेश र स्थानीय तहका क्षमता, वित्तीय पारदर्शिता, वित्तीय अनुशासन, विकास, सुशासनलगायत कार्यसम्पादनलाई इंगित गर्छ । कार्यसम्पादन मूल्याङ्कन गर्न स्थानीय तहका लागि २७ सूचक तय गरिएकाे थियाे ।