• १३ फागुन २०८१, मङ्गलबार

विद्यालयमा दिगो विकास प्राप्तिका लागि छलफल

blog

रमेश विश्वकर्मा

गुल्मी, फागुन ४ गते । विद्यालयमा दिगो विकास प्राप्तिका लागि भए गरेका क्रियाकलापहरूको लेखाजोखा सम्बन्धि छलफल गरिएको छ । गुल्मीको सदरमुकाम तम्घासमा स्थानीय तहमा शिक्षाको राष्ट्रिय कार्य ढाँचा तथा युनेस्को अवधारणासहित नवप्रर्वतनका विषयमा छलफल गरिएको हो ।

विशेषगरी दिगो विकासको लक्ष्य चार गुणस्तरीय शिक्षालाई केन्द्रमा राखेर शिक्षक, प्रधानाध्यापक, विद्यार्थी, अभिभावक, विद्यालय व्यवस्थापन समिति, स्थानीय जनप्रतिनिधि लगायतको प्रतिनिधिमूलक सहभागितामा तीन दिनसम्म छलफल तथा अन्तरक्रिया गरिएको हो। शिक्षा विकास तथा समन्वय एकाइको समन्वयमा युनेस्कोका निमित्त नेपाल राष्ट्रिय आयोगले आयोजना गरेको छलफलका क्रममा दिगो विकासका १७ वटा लक्ष्य अन्तर्गत रहेर विशेषगरी लक्ष्य चार गुणस्तरीय शिक्षालाई विशेष प्राथमिकमा राखिएको युनेस्कोका निमित्त नेपाल राष्ट्रिय आयोग सचिवालयका कार्यक्रम अधिकृत पदम जोशीले जानकारी दिनुभयो ।

युनेस्कोले गर्ने क्रियाकलापसँगै युनेस्कोसँग जोडिने विधि समेत छलफलमा जानकारी गराइएको थियो । दिगो विकाससँग हरेक कार्यक्रम जोडिएको हुँदा सन् २०३० सम्म दिगो विकास लक्ष्य हासिल गर्नको लागि स्थानीय, प्रदेश र केन्द्रीय सरकारले गरेका क्रियाकलापको लेखाजोखा गर्न जरुरी छ। दिगो विकासका लक्ष्य हासिल गर्न विशेष गरी गुणस्तरीय शिक्षाको आवश्यकता पर्ने देखिएको बताइएको हो ।

समाजको हरेक पाटो विद्यालयसँग जोडिने हुँदा विद्यालय शिक्षालाई गुणस्तर बनाउन सबै लाग्नुपर्ने देखिएको छ। विद्यार्थीलाई गुणस्तरीय शिक्षा प्रदान गर्न सकिएमा दिगो विकासको लक्ष्यमा पुग्न सहज हुन्छ । दिगो विकासका लक्ष्यलाई प्रभावकारी ढङ्गबाट हासिल गर्न तीनै तहका सरकारको समन्वय र स्थानीय सबैको भूमिका महत्त्वपूर्ण देखिएको उहाँले बताउनुभयो ।

दिगो विकासका लक्ष्यसँग सम्बन्धित र विशेषगरी लक्ष्य चार गुणस्तरीय शिक्षासँग सम्बन्धित रहेर गुल्मीमा कसरी काम भएका छन् भनेर छलफल गरिएको छ। दिगो विकासका लक्ष्य कार्यान्वयनका क्रममा आएका समस्या तथा समस्या समाधानका लागि भएका प्रयास र आगामी दिनमा कसरी अगाडी बढ्न सकिन्छ भन्ने सन्दर्भमा पनि छलफल गरिएको हो। छलफलका क्रममा जिल्ला समन्वय समिति गुल्मीका प्रमुख द्रोण खत्रीले दिगो विकासका लक्ष्यलाई हासिल गर्न गुणस्तरीय शिक्षामा विशेष जोड दिनुपर्ने बताउनुभयो ।

समयानुसारको शिक्षा र सिकाइ उपलब्धि सहि बनाउन विद्यालय सुधारमा सबैले ध्यान जरुरी रहेको बताउनुभयो। समय सुहाउँदो विद्यार्थीलाई अन्तर्राष्ट्रियस्तरमा प्रतिस्पर्धी बन्ने गरी तयार पार्न जरुरी रहेको उहाँको भनाइ छ । अबको समाज प्रविधि र आधुनिकतातर्फ दिनप्रतिदिन जान लागेको हुँदा शिक्षालाई सूचना प्रविधिसँग जोड्नुपर्ने बताउनुभयो। विद्यालयमा गुणस्तर शिक्षा प्रदान गर्ने गरी विद्यार्थीको सिकाइलाई प्रभावकारी बनाउन सकिएमा दिगो विकासको लक्ष्यलाई सहयोग पुर्‍याउने समन्वय प्रमुख खत्रीले बताउनुभयो ।