जानु पाण्डे
कपिलवस्तु, फागुन ४ गते । भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्री बलराम अधिकारीले सरकारले ल्याएका अध्यादेश जसरी भए पनि पास गरिने बताउनुभएको छ । नेकपा एमाले कपिलवस्तु जिल्ला कमिटीको बैठकलाई सम्बोधन गर्दै मन्त्री अधिकारीले उहाँले माओवादी अध्यक्ष प्रचण्ड प्रधानमन्त्री हुँदा यी अध्यादेश ल्याउन नसक्नुभएको टिप्पणी गर्नुभएको थियो ।
"त्यो बेलामा पनि मैले यही मन्त्रालय सम्हालेको थिएँ । त्यो बेला नसकेको अध्यादेश अहिले सरकारले ल्याएको छ । भूमिसम्बन्धी अध्यादेशको नबुझी विरोध भएको छ । पूर्व प्रम प्रचण्ड र रवि लामिछानेले समेत जनतासँग मत माग्ने बेला भूमिहीनलाई जग्गा उपलब्ध गराउने वाचा गरेका थिए," मन्त्री अधिकारीले बताउनुभयो ।
उहाँले सरकारले एघार वटा नयाँ ऐन बनाउने गरी अगाडि बढेको बताउनुभयो । अहिले ६ वटा अध्यादेश संसदमा टेबुल भएको छ । ती अध्यादेशभित्र २८ देखि २९ वटा कानुन छन् । त्यो बाहेक मिडिया र नागरिकतासम्बन्धी विधेयक पेस भएको बताउनुभयो ।
एमाले जिल्ला इन्चार्ज गिरिधारीलाल न्यौपानेले एमालेले गरेका कार्यहरूको मूल्याङ्कन गर्दा जनताले पार्टीलाई फेरि विश्वास गर्ने बताउनुभयो । उहाँले एमाले गरिब जनतासँग जोडिएको पार्टी भएकाले विपक्षीहरूले असफल बनाउन खोजे पनि सफल नहुने दाबी गर्नुभयो ।
बैठकले जरा केन्द्रित अभियान मार्फत पार्टीले गरेका काम र सन्देश लिएर हरेक मतदाताको घरदैलोमा पुग्ने योजना बनाएको एमाले कपिलवस्तु जिल्ला अध्यक्ष बाबुराम खनालले बताउनुभयो ।