गोरखापत्र समाचारदाता
काठमाडौँ, फागुन ४ गते । नेपाल निजामती कर्मचारी सङ्गठनको अध्यक्षमा भवानी न्यौपाने दाहाल निर्वाचित हुनुभएको छ । गत माघ ३० गतेदेखि सुरु भएको सङ्गठनको बाह्रौँ महाधिवेशनले शनिबार दाहालको अध्यक्षतामा १९ जना पदाधिकारीसहित १६४ जनाको नयाँ कार्यसमिति निर्वाचित गरेको हो ।
वरिष्ठ उपाध्यक्षमा रेवन्त गौतम, प्रभाषप्रसाद शाह, उपाध्यक्षमा कृष्णबहादुर केसी, युवाचन्द्र घिमिरे, विष्णुप्रसाद अर्याल, महिला उपाध्यक्षमा विजयालक्ष्मी सुवेदी, महासचिवमा रामचन्द्र अधिकारी (आरसी), उपमहासचिवमा वामदेव ओली र सूर्यबहादुर कुँवर निर्वाचित हुनुभएको हो । त्यस्तै महिला उपमहासचिवमा कमला दाहाल, सचिवमा राजबहादुर पथाई, तेजप्रकाश भण्डारी, ओमबहादुर कठायत, गोविन्द अधिकारी, महिला सचिवमा देवी पराजुली, कार्यालय सचिवमा पद्मबहादुर शाही, कोषाध्यक्षमा यमकुमारी सापकोटा र सहकोषाध्यक्षमा दीपक शर्मा पौडेलसहित महाधिवेशनले १६४ जनाको नयाँ कार्यसमिति निर्वाचित गरेको नवनिर्वाचित महासचिव आरसी अधिकारीले जानकारी दिनुभयो । नवनिर्वाचित अध्यक्ष दाहालले सङ्घीय निजामती सेवा ऐन जारी गराउन नेपाल निजामती कर्मचारी सङ्गठन सक्रिय भएर लाग्ने बताउनुुभयो । आधिकारिक टे«ड युनियनको निर्वाचन गराउन सरकारलाई दबाब दिने, सङ्गठनले तिनै तहमा कार्यरत कर्मचारीले अपनत्व महसुस गर्ने गरी काम गर्ने दाबी गर्नुभयो ।
अध्यक्ष पदमा दाहाल र रेवन्त गौतमबिच निर्वाचन गर्ने निर्वाचन कार्यतालिका सार्वजनिक गरिए पनि महाधिवेशन दुई दिनसम्म लम्ब्याएर सर्वसम्मत रूपमा पदाधिकारीसहित नयाँ कार्यसमिति निर्वाचित गरिएको हो ।