गोरखापत्र समाचारदाता
काठमाडौँ, फागुन ४ गते । यातायात व्यवस्था विभागले चालु आर्थिक वर्षको सात महिनामा डेढ लाख प्रति सवारीचालक अनुमतिपत्र (लाइसेन्स) छापेको छ । तीमध्ये एक लाख ६९ हजार ४३९ थान गरी वितरणका लागि सम्बन्धित यातायात कार्यालयमा पठाएको छ । विभागले दैनिक तीन हजारसम्म छपाइ गर्दै आएको छ ।
विभागका अनुसार हालसम्म करिब २७ लाख प्रति लाइसेन्स छाप्न बाँकी छ । लाइसेन्स छाप्ने काम प्रदेश सरकारले गर्ने तयारी भए पनि काम सुरु नहुँदा विभागमा छाप्न बाँकी सङ्ख्या थपिइरहेको विभागका महानिर्देशक राजीव पोखरेलले बताउनुभयो ।
२०७२ सालदेखि स्मार्ट लाइसेन्स लागु भएपछि छपाइको काम निरन्तर बाँकी रहँदै आएको छ । परीक्षा पास गरेकाले लाइसेन्स कार्ड पाउन कम्तीमा दुईदेखि तीन वर्षसम्म कुर्नुपर्ने बाध्यता छ । हाल सवारीचालक अनुमतिपत्र क्युआर कोड भएको लाइसेन्स उपलब्ध गराउने नियमावलीमा व्यवस्था गरेको छ । तर प्रदेश सरकारले प्रदेशबाटै लाइसेन्स छपाइको काम सुरु नगर्दासम्म छाप्न बाँकी समस्या रहिरहने विभागले जनाएको छ । हालसम्म कुनै प्रदेशबाट लाइसेन्स छपाइ सुरु भएको छैन ।