• ३ फागुन २०८१, शनिबार

घरबासमार्फत पर्यटक आकर्षित गर्ने योजना

blog

बुटवल समाचारदाता

बुटवल, फागुन ३ गते । रुपन्देहीको सबैभन्दा ठुलो गैडहवा तालमा घरबास कार्यक्रम सञ्चालन गरी लुम्बिनी घुम्न आउने पर्यटक आकर्षित गर्ने योजना अनुसार तयारी सुरु भएको छ । लुम्बिनी प्रदेश सरकारले रुपन्देही जिल्लाकै ठुलो ८० बिघा क्षेत्रफलको तालको संरक्षण गर्न नवप्रवर्तन कार्यक्रममार्फत यस वर्ष एक करोड रुपियाँ लगानी गरेको छ भने गैडहवा गाउँपालिकाले ५० लाख रुपियाँ लगानीमा गरी ताल क्षेत्रमै घरबास (होमस्टे) सञ्चालन गर्ने तयारी गरिरहेको छ । 

गैडहवा गाउँपालिकाका अध्यक्ष सुरेन्द्र पौडेलले आन्तरिक तथा बाह्य पर्यटकको आगमन बढाउन प्रदेश सरकारको नवप्रवर्तन कार्यक्रमले सहयोग पु¥याउने बताउनुभयो । 

अध्यक्ष पौडेलले प्रदेश सरकारले रुपन्देहीका १६ पालिकामध्ये यस वर्ष गैडहवा गाउँपालिकालाई मात्रै नवप्रवर्तन कार्यक्रममा जोडेको बताउनुभयो । उहाँले नवप्रवर्तन कार्यक्रममार्फत जिल्लाकै ठुलो तालको विकास गर्ने र लुम्बिनीमा आउने पर्यटकलाई तालसम्म ल्याउने योजना रहेको बताउनुभयो । 

त्यसको तयारी स्वरूप स्थानीय महिलाका लागि होमस्टे सञ्चालन, व्यवस्थापन तथा कुक तालिम सम्पन्न भएको छ । स्थानीय महिलाको आयआर्जनमा टेवा पु¥याउने उद्देश्यसहित स्थानीय उत्पादन र परम्परागत परिकारलाई प्रवर्धन गर्ने गरी तालिम सञ्चालन गरिएको हो ।

गैडहवा गाउँपालिकाका अध्यक्ष सुरेन्द्र पौडेलले स्थानीय महिलालाई आर्थिक रूपमा आत्मनिर्भर बनाउन ताल परिसरमै घरबास कार्यक्रम सञ्चालन गर्ने उद्देश्यले व्यवस्थापन तथा कुक तालिम प्रदान गरिएको बताउनुभयो । उहाँले गौतम बुद्धको जन्मस्थल लुम्बिनीसँग जोडिएको गैडहवालाई पर्यटकीय क्षेत्रका रूपमा विकास गर्ने तथा लुम्बिनी आएका पर्यटकलाई गैडहवा तालसम्म आकर्षित गर्ने योजनासाथ काम भइरहेको बताउनुभयो ।

लुम्बिनी होटेल एसोसिएसनका महासचिव पुरुषोत्तम अर्यालले घरबास सञ्चालन गर्ने उद्देश्यले आयोजित तालिममा सिकेका सिपलाई व्यवहारमा प्रयोग गर्न जोड दिँदै लुम्बिनी घुम्न आउने पर्यटकलाई गैडहवासम्म आउने वातावरण निर्माण गर्न स्थानीयको समेत भूमिका महत्वपूर्ण हुने बताउनुभयो । 

गैडहवा गाउँपालिका–४ मा रहेको जिल्लाकै ठुलो गैडहवा ताल पछिल्लो समय आन्तरिक पर्यटकको रोजाइमा परेको छ । गत वर्ष मात्रै नेपाली सेनाले लुम्बिनी प्रदेश सरकार र गैडहवा गाउँपालिकाको सहयोगमा तालको पुनर्निर्माण गरेको थियो । पालिकाले लुम्बिनीदेखि १२ किलोमिटर उत्तरमा अवस्थित यो तालमा लुम्बिनी भ्रमण गर्न आउने पर्यटकलाई आकर्षित गर्ने योजना ल्याउने जनाएको छ । ताल वरिपरिको क्षेत्रमा बोट प्लेटफर्म निर्माण, ताल गहिरो बनाउने, तालको चारैतर्फ ट्र्याक चौडा बनाउने चारैतिर ग्राभेलिङ गर्ने कार्य सम्पन्न भएपछि ताल मनमोहक देखिएको छ । 

गैडहवा गाउँपालिकाको आर्थिक सहयोगमा आयोजित घरबास सञ्चालन व्यवस्थापन तथा कुक तालिममा गैडहवाका ३० जना प्रशिक्षार्थीको सहभागिता रहेको थियो ।