• ३ फागुन २०८१, शनिबार

राष्ट्रपति रनिङ्ग शिल्ड प्रतियोगिता सुरु

blog

वराहक्षेत्र नगरपालिकाको आयोजनामा शुक्रबारदेखि सुरु भएको छैठौं वराहक्षेत्र नगरपालिका माध्यमिक विद्यालयस्तरीय राष्ट्रपति रनिङ्ग शिल्ड प्रतियोगिता । तस्बिर : बाबुराम कार्की

बाबुराम कार्की
वराहक्षेत्र, फागुन २ गते ।
वराहक्षेत्र नगरपालिकाको आयोजनामा शुक्रबारदेखि छैठौं वराहक्षेत्र नगरपालिका माध्यमिक विद्यालयस्तरीय राष्ट्रपति रनिङ्ग शिल्ड प्रतियोगिता सुरु भएको छ । प्रतियोगिताको उद्घाटन नगर प्रमुख रमेश कार्कीले गर्नुभएको छ ।

तीन दिनसम्म हुने प्रतियोगितामा नगर भित्र रहेका माध्यमिक तहका सामुदायिक, संस्थागत तथा धार्मिक विद्यालयको सहभागिता रहेको छ । भलिबल, कबड्डी, एथ्लेटिक्स र मार्सल आर्ट लगायतका विधाका खेलमा विद्यार्थी खेलाडीले प्रतिस्पर्धा गर्ने बताइएको छ ।

प्रतियोगिताको उद्घाटन गर्दै नगर प्रमुख रमेश कार्कीले विद्यालय स्तरदेखि नै खेलाडी उत्पादन गर्न राष्ट्रपति रनिङ्ग शिल्ड प्रतियोगिताको महत्त्वपूर्ण भूमिका रहेको बताउनुभयो । पालिकास्तरीय प्रतियोगिताबाट छनोट भएका खेलाडीले जिल्ला, प्रदेश हुँदै केन्द्रीयस्तरको प्रतियोगितामा सहभागिता जनाउने उहाँले बताउनुभयो ।

बसन्तऋतृ माध्यमिक विद्यालयको खेलमैदानमा शुक्रबार नगर खेलकुद विकास समितिका अध्यक्ष कपिल आचार्यको सभाध्यक्षतामा उद्घाटन समारोह आयोजना भएको थियो । समारोहमा विद्यार्थीहरुले मार्चमार्स, सांस्कृतिक नृत्य, खेलाडीहरुले कराते कात्ता प्रस्तुत गरेका थिए ।

उद्घाटन कार्यक्रममा नगर उपप्रमुख नन्दकुमारी सुनुवार, प्रमुख प्रशासकीय अधिकृत गणेशबहादुर कटुवाल विशिष्ट अतिथिलगायत शिक्षक र विद्यार्थीहरुको बाक्लो सहभागिता रहेको थियो ।