• ३ फागुन २०८१, शनिबार

सडक निर्माण सुस्त

blog

बाजुरा समाचारदाता

बाजुरा, फागुन २ गते । बाजुराको सेरा आँटीचौर सडक अन्तर्गत पर्ने बल्देदेखि धुरासैन सडक निर्माणको काम सुरु भएको झन्डै पाँच वर्ष पूरा भयो तर निर्माण सुस्त छ । 

जयदेवी एसएस निर्माण सेवा प्रालिले करिब तीन वर्षअघि काम सक्ने गरेर २०७७ सालमा ११ करोड रुपियाँमा कालोपत्रे गर्ने कामको जिम्मा लिएको थियो ।

सेरा आँटीचौर सडक निर्माणको जिम्मेवारी लिएको ठेकेदार कम्पनीले समयमै काम पूरा नगरेपछि अहिले सो सडकको कालोपत्रे गर्ने काम निकै ढिलाइ भएको बुढीगङ्गा  नगरपालिका–२ का बहादुर थापाले बताउनुभयो ।

उहाँले भन्नुभयो, “बह्रमतोला, कुँडी, डुङ्ग्री, आँटीचौर र डोगडीलगायतका स्थानीय दैनिक यो सडकमा आउजाउ गर्ने गर्छन् ।” कालोपत्रे गर्ने काम समयमै सम्पन्न गर्न नसक्दा अहिले यहाँका स्थानीयलाई यो सडकमा बर्खाको समय दैनिक उपभोग्य सामग्री ढुवानी गर्न तथा आउजाउ गर्नसमेत निकै समस्या हुँदै गएको थापाले बताउनुभयो ।”

आव २०६५/६६ मा सडक डिभिजन कार्यालय अछामले सेरा आँटीचौरसम्मको कच्ची सडकको निर्माण कार्य पूरा गरेपछि यहाँ जिप, ट्याक्टरलगायतका सवारीसाधन सञ्चालनमा आएका छन् । बल्देदेखि खप्तडछेडेदह गाउँपालिकाको आँटीचौर–डोगडी हुँदै बझाङ छोएको यो सडकमा पहिला लगातार चलिरहने गाडी अहिले ठाउँ ठाउँमा रोकिने गरेका छन् ।  लामो समयदेखि निर्माणाधीन यो सडकमा हिउँद, बर्खाको बेला सडक अवरुद्ध हुँदा यहाँका स्थानीय व्यापारीलाई दैनिक उपभोग्यका सामान ढुवानी गर्न निकै समस्या हुने गरेको छ । कोरोनाका कारण सामान खरिद र ढुवानी गर्न महँगो परेकाले सडक निर्माणको काममा ढिलाइ भएको जयदेवी एसएस प्रालिका प्रतिनिधि वीरेन्द्र शाहीले बताउनुभयो । २०८२ को असारमै कालोपत्रेको काम पूरा गर्ने शाहीले बताउनुभयो ।