• २९ फागुन २०८१, बिहिबार

सस्तो मूल्यमा ‘लम्पी स्किन’ विरुद्धको खोप दिने प्रस्ताव

blog

हैदराबाद (भारत), फागुन २ गते । भारत बायोटेकका कार्यकारी अध्यक्ष डा. कृष्णा एल्लाले नेपाली किसानलाई सस्तो मूल्यमा ‘लम्पी स्किन’ रोगविरुद्धको खोप उपलब्ध गराउने बताउनुभएको छ । हैदरावादस्थित जेनोम उपत्यकामा रहेको कम्पनीको कार्यालयमा नेपाली सञ्चारकर्मीसँगको अन्तर्क्रियामा उहाँले आफूहरूले उत्पादन गरेको खोप बायोभेटले स्वीकृत पाइसकेको र नेपाललगायत देशका किसानलाई सस्तो मूल्यमा उपलब्ध गराउने बताउनुभयो ।

भारत बायोटेक समूहको कम्पनी बायोभेटले उत्पादन गरेको ‘लम्पी स्किन’ रोगविरुद्धको खोप बजारमा ल्याउनका लागि भारतको राष्ट्रिय औषधी नियामक निकायबाट स्वीकृति प्राप्त गरिसकेको छ । उक्त खोपको प्रयोगबाट ठुलो सङ्ख्यामा गाईभैँसी बचाउन सहयोग पुग्ने अपेक्षा रहेको उहाँले बताउनुभयो । कम्पनीले उत्पादन गरेको उक्त खोपलाई सेन्ट्रल ड्रग्स स्टान्डर्ड कन्ट्रोल अर्गनाइजेसनले स्वीकृति दिइसकेको एल्लाले बताउनुभयो ।

उहाँले पछिल्ला दुई वर्षमा उक्त रोगका कारण करिब दुई लाख गाईभैँसी मरेको उल्लेख गर्दै त्यसले दुध उत्पादनमा समेत ह्रास आएको बताउनुभयो । नेपालमा मात्रै पछिल्लो दुई वर्षमा करिब १० हजार गाईभैँसी ‘लम्पी स्किन’ रोगका कारण मरिसकेका छन् भने मुलुकका ७३ जिल्लाका साढे तीन लाखभन्दा बढी पशु सङ्क्रमित भइसकेका छन् । 

रोगको सङ्क्रमणपछि गाईभैँसीले दिने दुधको परिमाणमा उल्लेख्य कमी आउने उल्लेख गर्दै उहाँले भन्नुभयो, “मैले सुने अनुसार नेपालले अहिले तीन डलरमा खोप ल्याइरहेको छ, हामीले नेपालका किसानलाई एक डलरमै खोप उपलब्ध गराउने योजना बनाएका छौँ ।”

अध्यक्ष डा. एल्लाले खोपको गुणस्तर, सुरक्षा र प्रभावकारिता भारतीय कृषि अनुसन्धान परिषद्, नेसनल रिसर्च सेन्टर अन इक्वाइन र भारतीय पशु चिकित्सा अनुसन्धान संस्थानमा परीक्षण गरिएको कम्पनीको भनाइ छ । 

‘लम्पी स्किन’ रोग लागेपछि गाईभैँसीको शरीरभरि छालामा गिर्खा देखापर्ने, ज्वरो आउने, ग्रन्थीहरू सुन्निने, दुध उत्पादन घट्ने र हलचल गर्न कठिनाइ हुने जस्ता लक्षण देखिने गरेका छन् । संस्थापक एल्लाले यो खोप पशु चिकित्सा क्षेत्रमा रोगको निगरानी र उन्मूलनका लागि गेम–चेन्जर हुने दाबी गर्नुभयो । कम्पनीले तत्कालका लागि ५० करोड डोज खोप उत्पादन गरी बजारमा पठाउने योजना बनाएको जनाइएको छ । यो रोग लागेपछि पशुको दुध दिने क्षमतामा ३५ प्रतिशतभन्दा बढीले कमी आउने भएकाले समयमै समस्या समाधानमा यसले सहयोग पुग्ने अपेक्षा गरिएको छ ।