काठमाडौँ, माघ ३० गते। दरबारमार्गको सडक पेटीमा ग्रेनाइड बिछ्याइएको छ। काठमाडौँ महानगरले नारायणहिटी संग्रहालय अगाडि महानगर प्रहरी वृत्त दरबारमार्गदेखि महेन्द्र शालिकसम्म दुवैतर्फको सडकमा ग्रेनाइड लगाइँदैछ। सार्वजनिक निर्माण विभागका प्रमुख सुरज शाक्यका अनुसार पैदल मार्गको चौडाइ कम्तीमा तीनदेखि बढीमा ६ मिटरसम्म छ।
सडकमा ग्रेनाइड राख्नुअघि गिटी र माटो मिसाएर बेस सोलिङ् गरिएको छ। त्यसभन्दा माथि ब्रिक सोलिङ् गरिएको छ। त्यसमा पिसिसी ढलान गरेर त्यसभन्दा माथि ग्रेनाइट बिछ्याउने काम भइरहेको छ। यो १६ एमएमसम्मको हुनेछ।
सार्वजनिक खरिद प्रक्रियाबाट सदाशिव इन्फ्रा प्रा.लि. ले काम गरेको हो। २०८० चैत ६ गते निर्माण पक्षसँग सम्झौता भएको हो। योजनाको अवधि यही माघ मसान्तसम्म हो।
मङ्गलबार महानगरपालिकाको अनुगमन समितिले कामको निरीक्षणसमेत गरेको थियो। निरीक्षणका क्रममा समितिका संयोजक एवं महानगरपालिकाका उपप्रमुख सुनीता डङ्गोलले, ग्रेनाइड सेटिङ्को निरीक्षण गर्दै पैदल मार्ग पैदल यात्रामैत्री हुनुपर्ने बताउँदै सडकमा भएका रुखको संरक्षणका विषयमा अधिकारीसँग जिज्ञासा राख्नुभएको थियो।
सहरी योजना आयोगका उपाध्यक्ष डा. सुमननरसिंह राजभण्डारीले, निर्माण प्रक्रियाको निरीक्षण गर्दै ग्रेनाइडको बाहिरी भाग खस्रो भएकोले यात्रामा चिप्लिने जोखिम नहुने बताउनुभयो।
तस्बिरः कविन अधिकारी