• ३० माघ २०८१, बुधबार

किवीका लागि शीतभण्डार

blog

अमरगढी समाचारदाता

डडेलधुरा, माघ ३० गते । किवी फल भण्डारण गर्न जिल्लामा पहिलो शीतभण्डार निर्माण गरिएको छ । जिल्ला सदरमुकामको अमरगढी नगरपालिका–१, दहमा किवीका लागि शीतभण्डार निर्माण गरिएको हो । किवीको उत्पादन बढ्दै गएपछि शीतभण्डार निर्माण गरिएको कृषि ज्ञान केन्द्र डडेलधुराका कार्यालय प्रमुख नरेन्द्र पनेरूले जानकारी दिनुभयो । उहाँका अनुसार कृषि ज्ञान केन्द्रको ५० प्रतिशत अनुदानमा पहिलो पटक शीतभण्डार निर्माण गरिएको हो । 

अमरगढी नगरपालिका–१, भेटादहमा श्री गणेश नमः कृषि फार्मका सञ्चालक गणेशबहादुर ऐरले आफ्नै जमिनमा शीतभण्डार निर्माण गर्नुभएको हो । कृषि ज्ञान केन्द्रको ५० प्रतिशत अनुदान रकम र ५० प्रतिशत रकम आफूले लगानी गरी २० लाख रुपियाँको लागतमा शीतभण्डार निर्माण गरेको उहाँले बताउनुभयो । उहाँका अनुसार दुई सय क्विन्टल क्षमताको शीतभण्डार निर्माण गरिएको छ । हाल शीतभण्डारमा उहाँको मात्रै करिब १५ क्विन्टल किवी भण्डारण गरिएको छ । 

“किवी उत्पादन गर्दै आएका किसानले किवी भण्डारणका लागि शीतभण्डारको माग राखेका थियौँ,” उहाँले भन्नुभयो, “गत आर्थिक वर्ष २०८०/८१ मा कृषि ज्ञान केन्द्रमा ५० प्रतिशत अनुदानमा शीतभण्डार निर्माणका लागि १० लाख रुपियाँ रकम विनियोजन गरिएको रहेछ । पछि अरू किसानले निर्माणमा चासो राख्नुभएन । बजेट फिर्ता जाने अवस्था आएपछि म एक्लैले शीतभण्डार निर्माण गरे । मेरो मात्रै १० लाख रुपियाँ खर्च भयो ।” गत मङ्सिरदेखि शीतभण्डारमा किवी भण्डार गरिएको उहाँले बताउनुभयो । 

शीतभण्डारमा भण्डारण गरिएको किवी हाल प्रतिकेजी दुई सय रुपियाँभन्दा बढी मूल्यमा बिक्री भइरहेको उहाँले बताउनुभयो । महाकाली राजमार्गको छेउ दहमा फार्म भएकाले फार्मबाटै किवी बिक्री भइरहेको उहाँको भनाइ छ । 

डडेलधुरामा हालसम्म छ जना किसानले व्यावसायिक किवी उत्पादन गर्दै आएका छन् । अमरगढी नगरपालिका, आलिताल गाउँपालिका र अजयमेरु गाउँकापालिका किसानले व्यावसायिक खेती गर्दै आएको उहाँले बताउनुभयो । करिब दुई हजार किवीका बिरुवाबाट हाल वार्षिक एक हजार क्विन्टलसम्म किवी उत्पादन हुँदै आएको छ । किवीको उत्पादन बढेसँगै मूल्यमा कमी आएको छ । आठ वर्ष पहिले पहिलो पटक किवी उत्पादन भएको डडेलधुरामा प्रतिकेजी मूल्य पाँच सय रहेकामा हाल प्रतिकेजी दुई सय रुपियाँसम्म छ ।