• २९ माघ २०८१, मङ्गलबार

कतारबाट फिर्तीको अवसर

blog

गोरखापत्र समाचारदाता 

काठमाडौँ, माघ २९ गते । कतारमा अलेखबद्ध (भिसाको म्याद सकिएका वा गैरकानुनी रूपमा प्रवेश गरेका) रूपमा बसिरहेका आप्रवासीलाई जेल सजाय र आर्थिक जरिबानाबिना स्वदेश फर्किन तीन महिनाको समय दिएको छ । कतारको आन्तरिक मामिलासम्बन्धी मन्त्रालयको सूचनालाई उद्धृत गर्दै कतारमा रहेको नेपाली दूतावासले अलेखबद्ध नेपाली श्रमिकलाई तीन महिनाभित्र घर फर्किन सक्ने योजनालाई अवसरका रूपमा लिन आग्रह गरेको हो ।

दूतावासका अनुसार कतार सरकारले कतारको कानुनमा भएको व्यवस्थाबमोजिम प्रवेश वा आवासीय अनुमतिसम्बन्धी व्यवस्था उल्लङ्घन गरी कतारमा बसिरहेका आप्रवासीले स्वदेश फर्किन तीन महिनाभित्रमा आवेदन दिन सक्ने छन् । यस अनुसार भिसाको म्याद सकिएर कागजातविहीन भएका कतारमा बसिरहेकाका लागि स्वदेश फिर्ती सहज हुने छ ।

यस्तो सेवा लिन चाहनेले दोहास्थित नेपाली दूतावासमा सम्पर्क गरी प्रक्रियाका विषयमा जानकारी लिनसमेत दूतावासले आग्रह गरेको छ ।