लक्ष्मी चौधरी
जनकपुरधाम, माघ २८ गते । नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले मधेशका जनतालाई सङ्गठित गर्ने तर्फ पार्टीको विशेष ध्यान रहेको बताउनुभएको छ ।
सोमबार जनकपुरधाम विमानस्थलमा सञ्चारकर्मीसँग कुराकानी गर्दै अध्यक्ष दाहालले माओवादी केन्द्रको रणनीति मधेश केन्द्रित रहेको उल्लेख गर्नुभयो । उहाँले भन्नुभयो, “केन्द्रिय समितिको बैठकपछि म मधेश आउँदा जनतामा सकारात्मक सन्देश प्रवाहित भएको देखिन्छ । अब मधेशका जनतालाई सङ्गठित गर्दै परिचालित गर्ने हाम्रो योजना छ ।”
उहाँले पार्टीको केन्द्रीय समितिको निर्णय अनुसार हुलाकी मार्ग क्षेत्रमा ‘माओवादी जागरण अभियान’ सञ्चालन गरिने जानकारी दिनुभयो । उक्त अभियान एक महिनासम्म सञ्चालन गरिने र यस क्रममा भाषण मात्र नभई स्थानीय बासिन्दा, नागरिक समाज, पत्रकार तथा बुद्धिजीवीहरूसँग प्रत्यक्ष संवाद गरिने उहाँले बताउनुभयो ।
साथै, अध्यक्ष दाहालले वर्तमान सरकारलाई राष्ट्रिय सभामा बहुमत हाँसिल गर्न कठिन रहेको टिप्पणी गर्नुभयो । उहाँका अनुसार यदि जनता समाजवादी पार्टीले आफ्नो अडान नछाडेमा सरकारका तर्फबाट पेश गरिएका अध्यादेशहरू पारित नहुने अवस्था सिर्जना हुनेछ । उहाँले वर्तमान सरकार सुशासनका पक्षमा नभइ त्यसको विरोध रोक्न गठन गरिएको आरोप लगाउँदै भन्नुभयो, “यो सरकार संविधान मिचेर बनाइएको छ । दुई ठूला दल मिलेर सरकार बनाउने संवैधानिक व्यवस्था छैन ।”
अध्यक्ष दाहालले संसदमा विभिन्न अध्यादेशहरू रोकिएका विषयमा सरकारको नीतिको आलोचना गर्नुभयो । उहाँका अनुसार, सरकार संसद बोलाउनुपर्ने समयमा अध्यादेश ल्याउनु गलत हो, विशेष गरी भूमि सम्बन्धी अध्यादेशको उद्देश्य नै शंकास्पद देखिएको छ ।