• २९ माघ २०८१, मङ्गलबार

पाथीभरा केबलकार निर्माणमा अवरोध नगर्न आग्रह

blog

केबलकार निर्माणबारे आयोजित पत्रकार सम्मेलनमा फुङ्लिङ नगरप्रमुख अमिर मादेन लगायत । तस्बिर : चन्द्र पन्दाक

चन्द्र पन्दाक

ताप्लेजुङ, माघ २८ गते । ताप्लेजुङको फुङ्लिङ नगरपालिकाले पाथीभरा केबलकार निर्माणको काममा अवरोध नगर्न सबै पक्षलाई आग्रह गरेको छ । विशेषगरी पहिचानवादी ‘नो केबलकार’ पक्षलाई पाथीभरा (मुक्कुमलुङ) मा केबलकार निर्माण हुनु विकासका दृष्टिले सबैभन्दा बढी ताप्लेजुङवासीलाई फाइदा हुनेभन्दै नगरपालिकाले अवरोध नगर्न आग्रह गरेको हो ।

सदरमुकाम फुङ्लिङमा सोमबार पत्रकार सम्मेलन गर्दै नगरपालिकाले सहजगरी केबलकार निर्माणको काम गर्ने वातावरण बनाउनका लागि सबै पक्षलाई आग्रह गरेको छ । पत्रकार सम्मेलनमा नगरपालिकाका प्रमुख अमिर मादेनले पाथीभरा धार्मिक आस्थाको केन्द्र पवित्रस्थल भए पनि पवित्रतालाई सुरक्षा र संरक्षण गर्दै केबलकार बनाउनुपर्ने धारणा राख्नुभयो । 

नगर प्रमुख मादेनले विकास र समृद्धिका लागि सबै पक्ष एकजुट हुनुको विकल्प नरहेको बताउँदै केबलकार निर्माणमा सहयोग गर्न नो केबलकार पक्षधरलाई आग्रह गर्नुभयो । उहाँले आउने पुस्ताको भविश्य सम्झेरै भए पनि विकास र विकसित प्रविधिको सदुपयोग साथै कार्यान्वयनमा अभिभावक वा अहिलेको पुस्ताले विशेष ध्यान दिनुपर्ने बताउनुभयो। 

केबलकारको विषयलाई लिएर सामाजिक सद्भाव भड्किँदै गएको र आपसी भातृत्व, भाइचारा, मित्रवत् सम्बन्धसमेत बिग्रिरहेको अवस्थामा पहिचानवादी नो केबलकार पक्ष र राज्य दुवै गम्भीर हुन पनि नगर प्रमुख मादेनले आग्रह गर्नुभयो । आपसी द्वन्द्व निम्त्याएर कसैलाई फाइदा नहुने उल्लेख गर्दै उहाँले पाथीभराको महिमामाथि राजनीति गर्न नहुने बताउनुभयो । पाथीभरा सबैको साझा धार्मिकस्थल भएको यसको महत्व, गरिमा र महिमालाई बचाउँदै केबलकार निर्णाण गनुपर्ने उहाँको भनाइ छ ।

पत्रकार सम्मेलनमा सहभागी नगरपालिकाका वडाध्यक्षहरु, ताप्लेजुङ उद्योग बाणिज्य सङ्घ, होटल व्यवसायी सङ्घ, गैर सरकारी संस्था महासङ्घलगायत सङ्घ संस्थाका प्रतिनिधिले पनि केबलकार निर्माण हुनुपर्नेमा जोड दिएका थिए । केबलकारको विषयमा बढ्दै गएको द्वन्द्वले जिल्लाको व्यवसाय, पर्यटन क्षेत्र लगायतमा प्रत्यक्ष असर परिरहेकाले आपसी सहमतिका साथ केबलकार निर्माण गर्नुपर्ने उनीहरुको धारणा रहेको छ ।

यता केबलकार परियोजनाको प्रस्ताव आएदेखि नै विरोध गरिरहेको नो केबलकार पक्ष आफ्नो अडानबाट पछि हटेको छैन । मुक्कुमलुङ संरक्षण संयुक्त सङ्घर्ष समिति, पाथीभरा केबलकार खारेजी संयुक्त सङ्घर्ष समिति लगायतले धार्मिक मुन्धुमी आस्थामाथि अतिक्रमण भएकोभन्दै परियोजनाको विरोध गरिरहेको छ । विरोधका क्रममा केबलकार पक्ष र विपक्षबिच ढुङ्गा हानाहान, नो केबलकार पक्ष र प्रहरीबिच झडप, बन्द, हड्तालजस्ता गतिविधि भइरहेका छन् ।

यसैक्रममा पछिल्लो पटक गत माघ १२ गते केबलकारको पूर्वाधार निर्माणको काम सुरु भएपछि प्रहरी र नो केबलकार पक्षबिच झपड नै भएको छ । झडपका क्रममा गोली चल्दा विरोध समूहका केही घाइते भएका छन् भने उनीहरुले प्रहार गरेको ढुङ्गामुढाले प्रहरीतर्फ पनि केही घाइते भएका थिए । यही घटनाका विषयलाई लिएर नो केबलकार पक्षले पूर्वमा यातायात बन्द आह्वान गरेका थिए । बन्दपछि सरकारले वार्ता समिति बनाई दुई पक्षबिच वार्ता भएर यातायात खुले पनि केबलकारका विषयमा सहमति हुन सकेको छैन ।

आइतबार मात्रै सरकार र नो केबलकार पक्षबिच भएको वार्ता बिना निस्कर्ष टुङ्गिएको छ । सरकार पक्षले सोमबार पुनः वार्तामा बसी सहमति खोज्ने जनाएको छ भने नो केबलकार पक्षले वार्तामार्फत निस्कर्ष निस्किने सम्भावना न्युन रहेकोभन्दै थप आन्दोलनको कार्यक्रम घोषणा गर्नेगरी सोमबार नै दिउँसो २ बजे काठमाडौंमा पत्रकार सम्मेलनको आयोजना गरेको छ । पाथीभरामा चन्द्रप्रसाद ढकाल नेतृत्वको पाथीभरा (मुक्कुमलुङ) दर्शन केबलकार प्रालिले केबलकार निर्माण गर्न लागेको हो ।