बझाङ समाचारदाता
बझाङ, माघ २८ गते । पर्यटकीय क्षेत्रसँग जोडिएको बझाङको खप्तडछान्ना गाउँपालिकामा नमुना विद्यालय भवन निर्माण भएपछि स्थानीय हर्षित भएका छन् । तीन वर्षअघि आएको बाढीपहिरोका कारण भवन र विद्यालयमा क्षति भएपछि यहाँको दुर्गा महालिङ मावि, चौकामा जिल्लाकै नमुना भवन निर्माण गरिएको हो । भौतिक संरचनाको अभावले पठनपाठनमा समेत समस्या भएको सो विद्यालयमा विद्यार्थीलाई असहज भएको थियो । अस्टे«लियन हिमालय फाउन्डेसनको आर्थिक सहयोगमा रिड नेपाल नामक गैरसरकारी संस्थाले निर्माण गरेको विद्यालयको सो भवन जिल्लाकै नमुना भवन रहेको छ ।
अस्टे«लियाली इन्जिनियर जोसुवा एन्जलबेथले गर्नुभएको डिजाइनमा रिड नेपाल नामक गैरसरकारी संस्थाले प्राविधिक सहयोग गरेको रिड नेपाल परियोजनाका इन्जिनियर सत्यराज पाण्डेले जानकारी दिनुभयो । उहाँले भन्नुभयो, “८० लाख रुपियाँको लागतमा निर्माण गरिएको भूकम्पप्रतिरोधी भवनमा तापक्रम सन्तुलन राख्ने खालको प्रविधि जडान गरिएको छ । भवन बालमैत्री र अपाङ्गतामैत्री छ ।” भवनभित्र सुविधायुक्त फर्निचर, बिजुलीसहितको व्यवस्था छ । “हाल बझाङ जिल्लामा निर्माण भएका भवनको तुलनामा यो भवन निकै सुविधायुक्त हो,” खप्तडछान्ना गाउँपालिकाका अध्यक्ष उत्तमबहादुर रोकायाले भन्नुभयो, “यस भवनको इन्जिनियरिङको अनुसरण अरू विद्यालयले पनि गर्नु पर्छ ।