गोकर्ण दयाल
बैतडी, माघ २८ गते । घिनताङ भन्नेबित्तिकै सर्वसाधारणले मादलको ताल भन्ने बुझ्छन् तर मादलको ताल झैँ भडाहाको गाथा र हुड्काको घाउँकुतीलाई धेरैले बुझ्न सकेका छैनन् । यो लिपिबद्ध हुन नसकेकाले पनि बुझ्न गाह्रो परेको हुन सक्छ । हुड्काको ताल, भडाहाको मलौलो र पौडा लिपिबद्ध नहुँदा भडाहाको गाथा र हु्ड्काको घाउँकुती संरक्षणको आवाज उठ्ने गरेको छ । यस वर्ष सुदूरपश्चिम प्रदेश सरकारले हुड्काका बारेमा अध्ययन, अनुसन्धान गर्न बजेटमार्फत कार्यक्रम ल्याएपछि यसबारे चर्चा सुरु भएको छ । हुड्को बजाएर नेपालदेखि भारतको उत्तराखण्ड राज्यसम्म चर्चा कमाएका बैतडीका स्व. झुसे दमाईंका नाममा प्रतिष्ठान स्थापना गर्न अध्ययन अनुसन्धान हुने भएको छ ।
बैतडीका चर्चित हुड्के स्व. झुसे दमाईंका बारेमा भारतमा ५० जनाभन्दा बढीले विद्यावारिधि गरिसकेको अवस्थामा नेपालमा उहाँका बारेमा अध्ययन अनुसन्धान हुन सकेको छैन । प्रतिष्ठान गठन गर्न नसकिएको गुनासो आइरहेका बेला प्रदेशका पूर्वमुख्यमन्त्री राजेन्द्रसिंह रावलले प्रदेशबाट बजेट सुनिश्चित गरिएको बताउनुभयो ।
भडाहा र हुड्को
हुड्काको तालमा ‘पाइक’ वीरहरूका भडाहा गाउँदा वीर रस बोल्छ । हुड्काको घाउँकुती ऽ धाउँऽऽ ले सुदूरपश्चिमका चर्चित भडाहाका गाथा बोकेको छ । प्रदेशमा अहिलेसम्म १२ वटा भडाहा गाइन्छ । यद्यपि ती भडाहाका गाथा पनि हुड्काको ताल जस्तै लिपिबद्ध छैनन् । हुड्काको तालमा गाइने चर्चित भडाहामध्ये सङ्ग्राम कार्कीको भडाहा, छुरा खातीको भडाहा, भिङ्या कठायतको भडाहा, लाली साउदको भडाहा, रनि राउतको भडाहा, उदा छपलियाको भडाहा, सोभा राउतको भडाहा हुड्काकै लय र तालमा गुञ्जिन्छन् ।
त्यसै गरी नर्स धौनीको भडाहा, भौसिंह भण्डारीको भडाहा चर्चित छन् । पछिल्लो समय बैतडी मेलौलीका हुड्काविज्ञ ७० वर्षीय मनोहर परियारले पृथ्वीनारायण शाहको पनि भडाहा रचना गरेर १२ वटा वीर पुरुष (पाइक) का भडाहा हुड्कोको तालमा लिपिबद्ध गर्न खोजे पनि कतैबाट सहयोग नपाएको उहाँले बताउनुभयो ।
सांस्कृतिक परम्परामा हुड्को
चैतलो गाउँदा पराइघर गएकी चेलीको माया र विरह बोलेर भेटौलो पर्वको याद गराउँछ । असारे रोपाइँको बेला ‘भैनी’ गाउँदा अन्न उत्पादन गर्न किसानलाई ऊर्जा दिन्छ । हुड्को नबजाई ‘भैनी’ गीत पूरा हुँदैन । हुड्कोसँग जोडिएका यी परम्पराले इतिहास, वर्तमान र समाजको जिउँदो कला संस्कृति बोके पनि यसको संरक्षण र प्रवर्धन हुन सकेको छैन ।
चैतलोमा हुड्को
सुदूरपश्चिममा पराइघर गएकी चेलीलाई भेटौलो पर्वमा भेट्ने चलन छ । हुड्को बजाउँदै चैतलो सुरु भएको सङ्केत चैतलो गीतबाट हुन्छ । हुड्को बाजाको तालमा चैतलो गीत गाउँदा छोरी भेट्न कोसेली बोकेर भेट्नेको ताँती लाग्छ । पछिल्लो समय भेटौले पर्व मनाउने गरे पनि गाउँघरतिर हुड्को बजाउँदै चैतलो गाउने भेटिन छाडेका छन् ।
भैनी गीतमा हुड्को
खेतमा रोपाइँ गर्दा किसानलाई अन्न उत्पादन गर्न उत्साहका साथ काममा जुट्न आग्रह गर्दै यो वर्ष धेरै अन्न फल्ने शुभसाइत जुरेको सङ्केत दिएर हुड्को बजाउँदै भैनी गाइन्छ । भैनी महिला र पुरुष दुवैले गाउने गीत हो । हुड्को बजाउँदै भैनी गीत भट्याउँदा हली र रोपाहार उत्साहका साथ खेतमा काम गर्छन् तर पछिल्लो समय रोपाइँ गर्ने खेतमा कतै पनि भैनी गीत गुञ्जिँदैन ।
विवाह, व्रतबन्धमा हुड्को
विवाह, व्रतबन्ध र शुभकार्यमा समेत हुड्को बजाउने चलन छ । पछिल्लो समय हुड्को बजाउने चलन हराइसकेको छ । हुड्कोकोे ठाउँमा ब्यान्ड बाजा बजाउने चलन भित्रिएको छ । हुड्को बजाएर जीविका चल्न छोडेपछि यो पेसा छोडेर नयाँ पुस्ता बिदेसिन थालेपछि हुड्को बजाउने परम्परा लोप हुँदै गएको हुड्को बाजाविज्ञ बैतडीका मनोहर परियारले बताउनुभयो । विगत ५० वर्षदेखि हुड्को बजाउँदै आउनुभएका बैतडी मेलौली नगरपालिका–७ का हुड्को विज्ञ परियारले हुड्कोलाई जातिविशेषको बाजा ठान्नु हुड्को लोप हुनुको प्रमुख कारण भएको बताउनुभयो । हुड्को बजाउनेलाई हुड्के भनेर हेपियो । मादल, तबला, गितार, बाँसुरी सबैले बजाए तर कसैलाई पनि मादले र तबले नभनिएको उहाँले बताउनुभयो । हुड्को बजाउनेलाई हुड्के भनिए पनि हुड्को बाजाले हुड्केका पीडा कहीँकतै बोलेको छैन । हुड्कोले वीरताका गाथा, समाज, कृषि र रीतिरिवाज बोलेको उहाँले बताउनुभयो ।