• २८ माघ २०८१, सोमबार

गोरखापत्रकर्मी राईलाई बुढासुब्वा गोल्डकप पत्रकारिता पुरस्कार

blog

गोरखापत्रका धरान समाचारदाता निशा राई २५ औं बुढासुब्वा गोल्डकपको पत्रकारिता पुरस्कारबाट सम्मानित हुँदै ।

धरान समाचारदाता 

धरान, माघ २७ गते । गोरखापत्रको धरान समाचारदाता रुपमा कार्यरत रहेकी पत्रकार निशा राईलाई २५ औं बुढासुब्वा गोल्डकपको पत्रकारिता पुरस्कारबाट सम्मान गरिएको छ ।

गोल्डकपको २५ औंं संस्करणको फाइनल खेल तथा समापन समारोहमा धरानलाई कार्यक्षेत्र बनाएर पत्रकारिता क्षेत्रमा सक्रिय भई बुढासुब्बा गोल्डकपसँगै धरानको खेलकुद क्षेत्रको विकासमा पत्रकारिता क्षेत्रवाट पुराएको योगदानको कदर गर्दै नगद १० हजारसहित सम्मानपत्र प्रदान गरिएको हो ।

धरानमा सञ्चालित बुढासुब्बा गोल्डकप फुटबल प्रतियोगिताको निरन्तरताले २५ औँ वर्ष पूरा गरेर नपाली फुटबलको क्षेत्रमा नयाँ इतिहास स्थापित गरेको कार्यक्रमको प्रमुख अतिथि कोशी प्रदेशका मुख्यमन्त्री हिक्मतकुमार कार्कीले बताउनुभयो । धरानको भविष्य खेलकुद र पर्यटन विकासमा उज्ज्वल रहेकाले प्रदेश सरकारले धरानलाई पर्यटन र खेलकुदको केन्द्र बनाउन आवश्यक योजना गरे बजेटको व्यवस्था गरिदिने प्रतिबद्धता उहाँले गर्नुभयो । 

समापन समारोहमा धरान फुटबल क्लबका संस्थापक अध्यक्ष किशोर राई र वरिष्ठ पत्रकार हर्ष सुब्बालाई पनि सम्मानित गरिएको छ । अध्यक्ष राईलाई ५१ हजार रुपियाँ नगद र वरिष्ठ पत्रकार सुब्बालाई ११ हजार रुपियाँ सहित क्लबले सम्मानित गरेको छ । 

बुढासुब्बा गोल्डकपको निरन्तरतामा धेरै उतारचढाव आएको बताउँदै सरकार पक्षबाट सहयोगको अभावका कारण विदेशमा बस्ने धरानका बुढासुब्बा प्रेमीहरूको सहयोगमा २५ औँ संस्करण सम्म आएको धरान फुटबल क्लबको अध्यक्ष प्रताप तामाङले बताउनुभयो । बुढासुब्बा गोल्डकपको निरन्तरताका लागि सबैको सकारात्मक सहयोगको आवश्यकता रहेको र सबैको सहयोग विना प्रतियोगिताले निरन्तरता पाउन कठिन भएको उहाँले बताउनुभयो । 

समापन समारोहमा कोशी प्रदेशको सांसदद्वय यसोदा कायस्थ, रमेश बस्नेत, विजय राई, जिल्ला फुटबल सङ्घका अध्यक्ष दीपक राई, नेपाली काँग्रेसका नगर सभापति श्याम पोखरेल, इलाका प्रहरी कार्यालय धरानको प्रहरी नायब उपरिक्षक प्रकाश जबेगुलगायतको उपस्थिति  थियो ।