• २७ माघ २०८१, आइतबार

सामुदायिक वन : महिलाको भूमिका प्रभावकारी

blog

धनगढी समाचारदाता

धनगढी, माघ २७ गते । कैलालीमा सामुदायिक वन संरक्षण, व्यवस्थापनमा महिलाको भूमिका प्रभावकारी देखिएको छ । महिलाले पारदर्शी र मितव्ययी तरिकाले काम गरिरहेकाले उनीहरूको भूमिका प्रभावकारी देखिएको हो । जिल्लामा महिला सामुदायिक वनसहित अन्य विभिन्न सामुदायिक वनको नेतृत्व महिलाले गरिरहेका छन् । महिलाले निकै इमानदारितापूर्वक काम गर्ने गरेका कारण सामुदायिक वनमा महिलाको भूमिका प्रभावकारी र राम्रो रहेको भजनी नगरपालिका–५ मा रहेको कुलदेव महिला सामुदायिक वन उपभोक्ता समूहका अध्यक्ष जलुदेवी साउदले बताउनुभयो । सात वर्षदेखि सो वनको नेतृत्व गर्दै आउनुभएका उहाँले भन्नुभयो, “महिलाले अनावश्यक खर्च गर्दैनन्, कार्ययोजना अनुसार काम गर्नेतिर ध्यान रहने गर्दछ ।”

हुन त सामुमदायिक वनको नेतृत्वमा महिला उपस्थिति अझै पनि पुरुषको तुलनामा कम छ । सङ्ख्यात्मक रूपमा उनीहरूले कम नेतृत्व गरे पनि काम भने गुणात्मक गरिरहेका छन् । कैलारी गाउँपालिका–४, सुन्दरपुरमा रहेको मुक्त महिला सामुदायिक वनलगायत अन्य सामुदायिक वन यसको उदाहरण हुन् । 

मुक्त कमैया महिलाले संरक्षण व्यवस्थापन गरिरहेको २४ हेक्टर क्षेत्रफलको मुक्त महिला सामुदायिक वनको अवस्था पहिलेको तुलनामा राम्रो भएको छ । पहिले खुला चरिचरनका कारण सखापको सँघारमा पुगेको सो वनलाई २०६२ सालदेखि महिलाले संरक्षण गर्न थालेपछि अहिले त्यसको अवस्थामा सुधार भएको छ । सक्रियतापूर्वक आफूहरू लागेर हुर्काइएको वनको अवस्था अहिले सुध्रेको मुक्त महिला सामुदायिक वन उपभोक्ता समूहका अध्यक्ष अमिता चौधरीले बताउनुभयो । 

भजनी नगरपालिका–७, वनगाउँस्थित प्रतीक्षा महिला सामुदायिक वन उपभोक्ता समूहका अध्यक्ष मनसरी चौधरीले सामुदायिक वन संरक्षणको काममा पुरुषभन्दा बढी महिला खट्ने गरेको बताउनुहुन्छ । उहाँले उदाहरण दिँदै भन्नुभयो, “हाम्रो यहाँको प्रस्तावित सिराधानी सामुदायिक वनलाई तीन टुक्रामा विभाजन गरेर तीन वटा सामुदायिक वन बनाइएको छ । जसमध्ये दुई वटा सामुदायिक वनको नेतृत्व पुरुषले गरिरहेका छन् र एउटा सामुदायिक वनलाई मेरो नेतृत्वमा महिलाले संरक्षण गरिरहेका छौँ । ती दुई सामुदायिक वनको तुलनामा हाम्रो काम राम्रो छ । वनको अवस्थामा पनि सुधार आएको छ ।”

विभाजनपछि पुरुषले नेतृत्व गरिरहेको हिम्मतपुर सामुदायिक वन र पुरैना सामुदायिक वन व्यवस्थित हुन नसकेको अध्यक्ष चौधरीले बताउनुभयो । आफूहरू कार्यसमितिमा महिला मात्रै भए पनि डटेर काम गर्ने गरेको उहाँको भनाइ छ ।