रमेश विश्वकर्मा
गुल्मी, माघ २६ गते । नेपाली कांग्रेसका प्रवाभशाली नेता डा. चन्द्र भण्डारीले देशमा सरकारको नीति अनुसार विकास निर्माणका काम हुनुपर्ने बताउनुभएको छ । शनिबार जिल्ला प्रशासन कार्यालय गुल्मीमा भएको अन्तरक्रिया कार्यक्रमलाई सम्बोधन गर्नुहुँदै उहाँले सरकारले बनाएको नीतिलाई कार्यान्वयन गर्न सबै पक्ष लाग्नुपर्ने बताउनुभएको हो ।
गुल्मी निर्वाचन क्षेत्र नम्बर– १ बाट निर्वाचित सङ्घीय सांसद भण्डारीले सरकारले बनाएको नीति समग्र नागरिकको सहजताका लागि हुने भन्दै विकास निर्माणका लागि बनेका नीतिलाई पूर्णरुपमा लागू गर्न जरुरी रहेको बताउनुभयो । विकाससँगै विनाश पनि उत्तिकै हुने हुँदा विकासबाट नागरिकलाई विस्थापित गर्ने कुनै पनि क्रियाकलाप गर्न नहुने उहाँको भनाइ छ ।
निर्माण व्यवसायीले विकास निर्माणका काम गर्दा सरकारको नीतिलाई विशेष ख्याल गर्नुपर्ने हुँदा नागरिकलाई नोक्सानी हुने गरी काम गर्न नहुने सांसद भण्डारीले बताउनुभयो । सरकारले नागरिकलाई सहज हुने नीति बनाउन जरुरी रहेको बताउनुभयो ।
विकास निर्माणका कार्यको लागि गुल्मी जिल्लामा बजेटको अभाव हुन नदिने भन्दै यहाँका जनप्रतिनिधिले गरेका विकासका काम सबै स्थानका नागरिकहरुले देखिने हुनुपर्ने बताउनुभयो । विगतको तुलनामा देशको अर्थतन्त्रमा सुधार हुँदै आएको हुँदा यस जिल्लामा सबैभन्दा धेरै योजना र बजेट ल्याउने उहाँको भनाइ छ ।