• २५ माघ २०८१, शुक्रबार

जिल्लास्तरीय राष्ट्रपति शिल्डका लागि सार्वजनिक बिदा

blog

साँघुस्थित मैवाखोला गाउँपालिका कार्यालय । तस्बिर : चन्द्र पन्दाक

चन्द्र पन्दाक
ताप्लेजुङ, पुस २५ गते ।
ताप्लेजुङको मैवाखोला गाउँपालिकाले जिल्लास्तरीय राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिताको अवसरमा एक दिन सार्वजनिक बिदा दिएको छ । प्रतियोगिताको उद्घाटनका दिन माघ २७ गते आइतबार गाउँपालिकाले सार्वजनिक बिदा दिइएको हो ।

गाउँपालिका अध्यक्ष विजयप्रकाश वनेमका अनुसार राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिताको अवसरमा पालिकाले स्थानीय बिदा दिएको हो । यसवर्षको जिल्लास्तरीय राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिता मैवाखोला गाउँपालिकाको प्रशासकीय केन्द्र साँघु सञ्चालन हुँदैछ । जिल्ला खेलकुद विकास समिति ताप्लेजुङको आयोजना र मैवाखोला गाउँपालिकाको संयोजनमा प्रतियोगिता हुन लागेको हो ।

गाउँपालिका अध्यक्ष वनेमले आफ्नो पालिकामा हुन लागेको प्रतियोगितालाई भव्य र प्रभावकारी रुपमा सम्पन्न गर्नका लागि एक दिन सार्वजनिक विदा दिएको बताउनुभयो । उहाँले प्रतियोगितामा सहभागी हुने खेलाडी तथा खेलप्रेमी महानुभावको स्वागत र सत्कार गर्नेसहित व्यवस्थापनको कार्य करिव पूरा भएको पनि जानकारी दिनुभयो । मैवाखोलाले खेल अवधिभर पालिकाका तर्फबाट सहभागी हुने खेलाडीको एक लाख रुपियाँ बराबरको दुर्घटना बीमासमेत गरी दिएको जनाएको छ ।

यता जिल्लास्तरीय राष्ट्रपति रनिङ शिल्ड प्रतियोगितामा विभिन्न विधाका ६६ स्वर्ण, ६६ रजत र ७० कास्य पदकका लागि प्रतिस्पर्धा हुने जिल्ला खेलकुद विकास समितिले जनाएको छ । समिति अध्यक्ष नरेन्द्रकुमार लिम्बूका अनुसार पालिकास्तरीय राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिताबाट छनोट भएका खेलाडीहरु प्रतियोगितामा सहभागी हुने छन् ।