तम्घास समाचारदाता
तम्घास, माघ २५ गते । गुल्मीमा लुम्बिनी प्रदेश सरकारको लगानीमा निर्माण भएका संरचना प्रयोगविहीन भएका छन् । सदरमुकाम तम्घासमा रहेको रेसुङ्गा नगरपालिका र लुम्बिनी प्रदेशको ५०/५० प्रतिशत साझेदारीमा ५५ लाख रुपियाँको लागतमा निर्माण भएको थ्रिडी पार्क प्रयोगविहीन अवस्थामा छ ।
सो पार्कमा रेसुङ्गा नगरपालिकाले पटक पटक गरी १० लाख रुपियाँभन्दा बढी रकम मर्मतमा खर्च गरिसकेको छ तथापि सो पार्क बेवारिसे जस्तै भएको छ । जिल्ला प्रशासनअगाडि रहेको पहिलेको लाकुरी मञ्चको नामनिसानै सकेर बनाइएको पार्क प्रयोगविहीन हुँदा पहिलेकै लाकुरी मञ्चकै रूपमा अगाडि बढाउनुपर्नेमा कतिपयले जोड दिँदै आएका छन् ।
धार्मिक तथा पर्यटकीय क्षेत्र अर्जुन क्षेत्रमा लुम्बिनी प्रदेश सरकार उद्योग, वन तथा वातावरण मन्त्रालयको १४ लाख ४० हजार रुपियाँ र उपभोक्ता समितिका तर्फबाट एक लाख ४४ हजार गरी १५ लाख ८४ हजार रुपियाँको लागतमा सेल्फी टावर निर्माण गरिए पनि अहिले प्रयोगविहीन बनेको छ । त्यसै गरी सदरमुकाम तम्घासकै उनायचौरमा १३ लाख ३८ हजार ९११ रुपियाँमा निर्माण भएको ट्री हाउस पनि अहिले प्रयोगविहीन अवस्थामा छ । उक्त हाउसको २०७६ सालमा तत्कालीन उद्योग, वन तथा प्रर्यटनमन्त्री लीला गिरीले उद्घाटन गर्नुभएको थियो । अहिले उक्त संरचना प्रयोगविहीन अवस्थामै रहेको छ ।
दीर्घकालीन रूपमा योजना नबनाई सस्तो लोकपिय्रताका लागि बनाइएका संरचना अहिले प्रयोगविहीन अवस्थामा रहेका हुन् । प्रयोगविहीन भएका संरचना सञ्चालनमा ल्याउनका लागि सरोकारवाला निकायले कुनै ध्यान नदिएको गुनासो स्थानीय बासिन्दाको छ । नागरिक समाज गुल्मीका अध्यक्ष पदम पाण्डेले राज्यको रकम खर्चेर बनेका संरचना संरक्षण र सञ्चालनमा ल्याउनुपर्नेमा जोड दिनुभयो । जे उद्देश्यका साथ निर्माण भएको हो सोही अनुसार नै सञ्चालनमा ल्याउनुपर्ने उहाँको भनाइ छ । दीर्घकालीन रूपमा योजना नबनाई सस्तो लोकप्रियताका लागि बनाएका संरचना अहिले गलपासो जस्तै भएको उहाँको तर्क छ ।
रेसुङ्गा नगरपालिका–७ का वडाध्यक्ष तथा नगरका प्रवक्ता रामजी पन्थीले प्रयोगविहीन संरचना सञ्चालनका लागि प्रदेश सरकारसँग रकम माग गरिएको बताउनुभयो । प्रदेश सरकारसँग रकम माग गरिएको बताउँदै प्रदेशबाट रकम नआए पनि नगरको बजेटबाटै भए पनि संरचनालाई सञ्चालनमा ल्याएरै छाड्ने उहाँको दाबी छ ।