• २९ फागुन २०८१, बिहिबार

दस हजार उद्योगमा एकतिस खर्ब लगानी

blog

गोरखापत्र समाचारदाता

काठमाडौँ, माघ २५ गते । मुलुकमा दर्ता भएका झन्डै १० हजार उद्योगमा ३१ खर्ब रुपियाँभन्दा बढी लगानी प्रस्ताव आएको छ । उद्योग विभागका अनुसार चालु आर्थिक वर्ष २०८१/८२ को छ महिनामा (साउन–पुस) सम्म नौ हजार ८५७ स्वदेशी उद्योग दर्ता भएका छन् । ती उद्योगमा ३१ खर्ब ४२ अर्ब रुपियाँ लगानी प्रतिबद्धता आएको छ । 

गत आव २०८०/८१ मा नौ हजार ५१९ उद्योगमा ३० खर्ब ३९ अर्ब रुपियाँ लगानी प्रतिबद्धता आएको थियो । गत आवको तुलनामा चालु आवको छ महिनामा उद्योग दर्तासँगै लगानी प्रतिबद्धता वृद्धि भएको तथ्याङ्कले देखाएको छ । 

चालु आवको छ महिनामा सबैभन्दा धेरै छ हजार २५८ वटा साना उद्योग दर्ता भएका छन् । लगानीकर्ता सबैभन्दा धेरै साना उद्योग स्थापना र सञ्चालनमा आकर्षित हुँदा साना उद्योग बढी दर्ता भएको तथ्याङ्कले देखाएको छ । 

नेपाल घरेलु तथा साना उद्योग महासङ्घका अध्यक्ष उमेश सिंहले सरकारले चालु आवको बजेटमार्फत साना उद्योग दर्ता प्रक्रिया सहज गरेकाले पनि दर्ता सङ्ख्या वृद्धि भएको जानकारी दिनुभयो । साना उद्योग दर्ता प्रक्रियामा कम लगानी आवश्यक पर्ने हुँदा लगानीकर्ता बढी आकर्षित देखिएको उहाँको भनाइ छ । महासङ्घका अनुसार मुलुकभर छ लाख ४३ हजार साना तथा मझौला उद्योग दर्ता भई सञ्चालनमा छन् । 

छ महिनामा मझौला उद्योग दुई हजार १५६ र ठुला उद्योग एक हजार ४४३ दर्ता भएका छन् । उत्पादनमूलक, ऊर्जामूलक, कृषि तथा वन पैदावारमा आधारित, खनिज, पर्यटन क्षेत्रका आधारमा स्वदेशी उद्योग दर्ता हुने गर्छन् । छ महिनामा दर्ता भएका उद्योग सञ्चालन भएपछि सात लाख २२ हजार ७४३ जनाले रोजगारी पाउने प्रस्ताव गरिएको छ । 

यस्तै छ महिनामा ३५४ परियोजनामा २५ अर्ब ६६ करोड रुपियाँ प्रत्यक्ष विदेशी लगानी प्रतिबद्धता आएको छ । विदेशी लगानीमा सञ्चालित परियोजनाबाट १० हजार २४४ जनालार्ई रोजगारी प्रस्ताव गरिएको छ । पर्यटन, सेवा र सूचना प्रविधिमा आधारित उद्योगमा विदेशी लगानीकर्ता आर्षित देखिएका छन् । 

यसैबिच छ महिनामा ८९ वटा प्याटेन्ट दर्ता भएका छन् । ३२४ वटा डिजाइन र सबैभन्दा धेरै ६६ हजार ६४९ टे«डमार्क दर्ता भएका छन् । गत आवमा ८८ वटा प्याटेन्ट, ३१४ डिजाइन र ६४ हजार ६१५ वटा ट्रेडमार्क दर्ता भएका थिए ।