काठमाडौं, माघ २४ गते । सञ्चार तथा सूचना प्रविधिमन्त्री पृथ्वीसुब्बा गुरुङले नेपाललाई आइटी हब बनाउन आवश्यक नीति, कानुन र पूर्वाधार निर्माण गर्न सरकार तयार रहेको बताउनुभएको छ ।
बिहीबार काठमाडौंमा आयोजना भएको ‘क्यान इन्फोटेक’ को ३० औं संस्करणको उद्घाटन कार्यक्रममा बोल्नुहुँदै मन्त्री गुरुङले यस्तो बताउनुभएको हो ।
उहाँले नेपाललाई आइटी हबको रूपमा विकास गर्न आवश्यक नीति, कानुन र पूर्वाधार निर्माणका लागि सहजीकरण गर्न मन्त्रालय तयार रहेको जानकारी दिनुभयो । उहाँले सरकार र निजी क्षेत्रको सहकार्यमा नेपाललाई आइटी हबको रूपमा विकास गरी विश्वलाई चिनाउनु पर्नेमा जोड दिनुभयो ।
सञ्चारमन्त्री गुरुङले भन्नुभयो, ‘‘आइटी क्षेत्र भर्खर सुरु गरेका छौं । आइटी क्षेत्रलाई आइटी हबका रूपमा विकास गर्न आवश्यक नीति, कानुन र पूर्वाधार निर्माणका लागि सहजीकरण गर्न मन्त्रालय तयार छ । तपाईंहरू मेहनत र हिम्मतका साथ काम गर्नुस् । नेपाललाई आइटी हबको रूपमा चिनाउनु पर्छ ।’’
सञ्चारमन्त्री गुरुङले आइटी क्षेत्रबाट यो वर्ष गत वर्षभन्दा धेरै राजस्व सङ्कलन हुने विश्वास रहेको बताउनुभयो । उहाँले सरकारले ल्याएको अध्यादेश प्रभावले राजस्व बढाउन सक्ने उल्लेख गर्नुभयो । उहाँले नेपालमा पर्यटनभन्दा आइटी क्षेत्रको योगदान बढी हुने अवस्था रहेको बताउनुभयो ।
‘‘सरकारले नेपालको आफ्नै स्याटालइट बनाउने भनेका छौं । नाष्ठका वैज्ञानिक भेट हुनुभएको थियो । नेपालका वैज्ञानिकहरूले बनाएको डिजाइन गरेको ५० किलो ग्रामको भारतको पनि सहयोगमा प्रक्षेपन गर्दैछौं भन्नुभयो । यो हाम्रो सुरुवात हो ।,’’ सञ्चारमन्त्री गुरुङले भन्नुभयो, ‘‘काम गर्ने वातावरण सरकारले बनायो भने वैज्ञानिक खोज्न नासामा जानु पर्दैन । मुलुकभित्रै उत्पादन हुने रहेछ । सरकारले त्यो काम गर्छ । यो वर्ष गत वर्षभन्दा धेरै राजस्व सङ्कलन हुने विश्वास छ । सरकारले ल्याएको अध्यादेश प्रभाव बनाउँछ ।’’
उहाँले पर्यटनको कथा धेरै वर्ष भए पनि सन्तोषजनक प्रगति गर्न सकेको भन्दै पर्यटनमा पूर्वाधारको धेरै अभाव देखिएको बताउनुभयो । उहाँले पर्यटन विकासका लागि बनाएको दुई वटा विमानस्थल चलाउन नसकेको स्वीकार गर्नुभयो ।
सञ्चारमन्त्री गुरुङले भन्नुभयो, ‘‘नेपालमा पर्यटनभन्दा आइटी क्षेत्रको योगदान बढी हुने भयो । पर्यटनको कथा भनेको धेरै भयो तर सन्तोषजनक प्रगति गर्न सकेका छैनौं । पूर्वाधारको धेरै अभाव देखिन्छ । बनाएको दुई वटा विमानस्थल चलाउन नसकेका छैनौं ।’’
उहाँले सरकारले नेपालको आफ्नै स्याटालइट बनाउने योजना बनाइरहेको बताउनुभयो । उहाँले अध्ययन गर्ने र आवश्यक पूर्वाधार विकास गरी काम गर्ने वातावरण मुलुकभित्रै बनाए वैज्ञानिक खोज्न नासामा जानुपर्ने अवस्था नहुने उल्लेख गर्नुभयो ।