भवानी ऐर
गोदावरी (कैलाली), माघ २४ गते । ठुला भवन र चौडा सडक बनाउनु मात्रै विकास नभएको सुदूरपश्चिम प्रदेशसभा सदस्य धर्मराज पाठकले बताउनुभएको छ । प्रदेशसभा अन्तर्गतको सामाजिक विकास समिति सदस्यसमेत रहनुभएका सांसद पाठकले बिहीवार कैलालीको धनगढीमा सरकारले ल्याएको अपाङ्गता भएका व्यक्तिहरुसम्बन्धी राष्ट्रिय नीति २०८० बारेमा सरोकारवालालाई प्रशिक्षण कार्यक्रममा यस्तो बताउनुभएको हो ।
“ठुल्ठुला भवन र चौडा सडक बन्नु मात्रै विकास मानिने रहेनछ, विकास निर्माणका ती संरचनामा सबै जनसमुदायको पहुँच भए मात्रै विकास भन्न सकिन्छ।“ ठुला भवन र चौडा सडक अपाङ्गतामैत्री हुन पनि जरुरी रहेको उहाँको भनाइ थियो । अपाङ्गताका क्षेत्रमा विभिन्न कानुन बने पनि लागु हुन नसक्दा समस्या हुने गरेको भन्दै उहाँले हिजोका दिनभन्दा आज थुप्रै राम्रा कामहरु भइरहेको दाबी गरे । तर जति हुनुपर्ने हो त्यति हुन नसकेको उहाँको भनाइ थियो ।
“अहिले दश प्रकारका अपाङ्गता भएका व्यक्तिहरुको पहिचान भएको छ, उहाँहरुका अधिकार पनि धेरै छन् । बनेका कानुन कार्यान्वयन हुनुपर्नेमा जोड दिँदै उहाँले भन्नुभयो, तर सबै कार्यान्वयन हुन सकेको छैन ।” आफ्ना समस्याहरुलाई सम्बन्धित निकायसम्म पुर्याएर दबाब दिन सरोकारवालालाई आग्रह गर्दै उहाँले आफूले यस क्षेत्रमा रहेर गर्नुपर्ने काम गर्ने र सहयोग गर्न आफू तत्पर रहेको बताउनुभयो ।
कार्यक्रममा बौद्धिक अपाङ्गता अभिभावक सङ्घ कैलालीका अध्यक्ष निर्मला विष्टले अपाङ्गता भएकालाई अझै पनि बैंक खाता खोल्न, अंश हक, बिमा गर्ने जस्ता कुरामा समस्या रहेको बताउनुभयो । यस्तै, बौद्धिक अपाङ्गता अभिभावक महासङ्घ नेपालका उद्धवराज अवस्थीले समावेशी शिक्षामा सबैको पहुँच हुनुपर्नेमा जोड दिँदै तीन तहकै सरकारले बजेट बढाउनुपर्ने बताउनुभयो ।
उहाँले अपाङ्गता भएकाहरुका लागि छुट्टै विद्यालय बनाउनुभन्दा उनीहरूलाई पनि अन्य विद्यार्थीसँगै राखेर शिक्षा दिन सकिएमा महत्त्वपूर्ण उपलब्धि हुने बताउनुभयो । अपाङ्गता भएका विद्यार्थीहरुलाई अन्य विद्यार्थीसँगै राख्दा बढी कुरा जान्ने अवसर मिल्ने र समाजमा घुलमिल हुन सहज हुने उहाँको भनाइ छ ।
कार्यक्रममा कानुनविद् मुकुन्द दाहालले सहजीकरण गर्दै अपाङ्गतासम्बन्धी राष्ट्रिय नीति २०८० र प्रादेशिक नीति २०८१ बारे जानकारी दिनुभएको थियो । उहाँले समावेशी विकासका लागि वकालत क्षमता, समावेशी शिक्षामा सबैको पहुँचलगायतमा विषयमा अभिमुखीकरण गर्नुभएको थियो ।