• २१ माघ २०८१, सोमबार

चन्द्रकोटको राष्ट्रपति रनिङ शिल्डको उपाधि ज्ञानोदयलाई

blog

रमेश विश्वकर्मा

गुल्मी, माघ २१ गते । गुल्मीको चन्द्रकोट गाउँपालिकाको आयोजनामा भएको छैठौं राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिता ज्ञानोदय माध्यमिक विद्यालय मजुवाले जितेको छ। यस गाउँपालिकाको वडा ४, शान्तिपुरस्थित उदय माध्यमिक विद्यालय र चक्रेश्वर इङ्लिस बोर्डिङ स्कुलको व्यवस्थापनमा भएको प्रतियोगितामा १८ स्वर्ण, सात रजत र पाँच कास्य गरी कुल ३० पदक हात पार्दै ज्ञानोदय माध्यमिक विद्यालय मजुवाले उपाधि जितेको हो ।

दुई दिनसम्म सञ्चालन भएको प्रतियोगितामा दोस्रो भएको उदय माध्यमिक विद्यालय शान्तिपुरले १७ स्वर्ण, छ रजत र आठ कास्यसहित कुल ३१ पदक प्राप्त गरी उपविजेता बनेको छ । छ स्वर्ण, दुई रजत र चार काँस्यसहित कुल १२ पदक प्राप्त गरी शारदा माध्यमिक विद्यालय सराङ्ग तेस्रो भएको हो । 

चार स्वर्ण, तीन रजत र तीन काँस्यसहित कुल १० पदक प्राप्त गरी ग्वाघा माध्यमिक विद्यालयले ग्वाघा सान्त्वना भएको छ । हर्राचौर माध्यमिक विद्यालय हर्राचौरले तीन स्वर्ण, दुई रजत र दुई काँस्यसहित सात पदक प्राप्त गरेको छ। सरस्वती माध्यमिक विद्यालय ओलिबाङ्गले दुई स्वर्ण, तीन रजत र एक काँस्यसहित छ पदक प्राप्त गरेको छ। चक्रेश्वर इङ्लिस बोर्डिङ स्कुल शान्तिपुरले एक स्वर्ण, दुइ रजत र पाँच काँस्यसहित आठ पदक प्राप्त गरेको छ।

त्यस्तै, शारदा माध्यमिक विद्यालय रुपाकोटले एक स्वर्ण, दुई रजत र दुई काँस्यसहित पाँच पदक प्राप्त गरेको छ । पोलारिस इङ्लिस बोर्डिङ स्कुल मजुवाले एक स्वर्ण, दुई रजत र एक काँस्यसहित चार पदक प्राप्त गरेको छ । शारदा माध्यमिक विद्यालय अर्जेवाले एक स्वर्ण, एक रजत प्राप्त गरेको छ। जनता बालनिकेतन माध्यमिक विद्यालय पिपलपाटाले एक स्वर्ण प्राप्त गरेको छ। 

भानु इङ्लिस बोर्डिङ स्कुल हर्राचौरले एक रजत र एक काँस्य प्राप्त गरेको गाउँपालिकाका सूचना अधिकारी शिवप्रसाद ज्ञवालीले जानकारी दिनुभयो। राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिता सञ्चालन निर्देशिका, २०७० (पाँचौ संशोधन) अनुसार भएको थियो ।

प्रतियोगितामा भलिबल छात्रछात्रा, कबड्डी छात्रछात्रा, एथ्लेटिक्स छात्रछात्रा दौड (ट्रयाक), उफ्रने र फ्याँक्ने ९फिल्ड० तर्फ हाइजम्प, लङजम्प, त्रिपलजम्प, ज्वाभलिङ थ्रो, सटपुट र मार्सल आर्टतर्फ कराँते छात्रछात्रा, तेक्वान्दो छात्रछात्रा खेल भएको शिक्षा युवा तथा खेलकुद शाखा प्रमुख नयन सिंह ठकुरीले बताउनुभयो। खेलमा उत्कृष्ट बन्नुभएका छात्रछात्रा खेलाडीलाई ट्रफी, मेडल र प्रमाणपत्र प्रदान गरिएको हो। 

प्रतियोगितामा विजेता विद्यालय र खेलाडीलाई जिल्ला समन्वय समिति प्रमुख द्रोण खत्री, गाउँपालिका अध्यक्ष युवराज खत्री क्षत्री, उपाध्यक्ष विष्णुप्रसाद भण्डारी, वडा अध्यक्ष, कार्यपालिका सदस्य लगायतले सम्मानसहित ट्रफी, पदक र प्रमाणपत्र प्रदान गर्नुभयो।