गजेन्द्र गुरुङ
खजुरा, माघ २१ गते । आठौँ कोहलपुर मेयरकप तथा सत्रौँ राष्ट्रपति रनिङ शिल्ड खेलकुद छनोट प्रतियोगिता–२०८१ सम्पन्न भएको छ । कोहलपुर नगरपालिकाको आयोजनामा आठौँ अन्तर आवि/मावि मेयर कप रनिङ शिल्ड तथा १७औँ नगरस्तरीय राष्ट्रपति रनिङ शिल्ड खेलकुद छनोट प्रतियोगिता–२०८१ आइतबार सम्पन्न भएको हो ।
गत बुधबारदेखि कोहलपुर नगरपालिका वडा नम्बर १ स्थित कृष्ण माध्यमिक विद्यालयको प्राङ्गणमा सुरु भएको खेलकुद प्रतियोगितामा सर्वाधिक पदक बटुल्दै कृष्ण माध्यमिक विद्यालय च्याम्पियन बनेको छ । कृष्ण माविले १५ स्वर्ण, १० रजत र ५ कास्य पदकसहित प्रथम स्थान हासिल गरेर च्याम्पियन बनेको हो ।
खेलकुद सचिवालयका अनुसार विद्यालयले एथलेटिक्स छात्रतर्फ तीन, एथलेटिक्स छात्रातर्फ आठ, तेक्वान्दो छात्रतर्फ एक र छात्रातर्फ तीन गरी कुल १५ स्वर्ण पदक जितेको हो । त्यसैगरी विभिन्न खेलमा १० रजत र पाँच कास्य पदक हासिल गर्दै उक्त विद्यालय यसवर्षको खेलकुद प्रतियोगितमा च्याम्पियन बन्न सफल भएको हो ।
त्यसैगरी आठ स्वर्ण, सात रजत र आठ कास्यसहित गोरखा युनाइटेड माविले द्वितीय स्थान हासिल गरेको छ । गोरखाले एथलेटिक्स छात्रतर्फ पाँच, एथलेटिक्स छात्रातर्फ एक, भलिबल छात्रातर्फ एक र तेक्वान्दो छात्रातर्फ एक गरी आठ स्वर्ण पदक हासिल गरेको हो ।
त्यसैगरी त्रिभुवन माविले सात स्वर्ण, पाँच रजत र आठ कास्य पदक हासिल गरी तृतीय स्थान हासिल गरेको छ । त्रिभुवनले एथलेटिक्स छात्रातर्फ दुई, कराँते छात्रतर्फ दुई र कराँते छात्रातर्फ तीन गरी कुल सात स्वर्ण पदक हासिल गरेको थियो ।
माध्यमिक तहतर्फ प्रतियोगितामा २७ विद्यालय सहभागी भएका थिए । प्रतियोगितामा प्रथम, द्वितीय र तृतीय भएका विद्यालयहरुले क्रमशः ७५ हजार, ६५ हजार र ५५ हजार रुपियाँसहित प्रमाणपत्र र शिल्ड प्राप्त गरेका छन् ।
समापन कार्यक्रममा विजयी भएका विद्यालयहरुलाई कोहलपुर नगरपालिकाका नगरप्रमुख पूर्णप्रसाद आचार्यले पुरस्कार, प्रमाणपत्र र शिल्ड प्रदान गर्नुभएको थियो । नगरप्रमुख आचार्यले मेयर कप कोहलपुर नगरपालिकाको आधिकारिक प्रतियोगिता भएको बताउनुभयो । स्थानीय सरकारले सञ्चालन गर्ने नियमित प्रतियोगिताको रुपमा रहेको मेयर कप विद्यार्थीहरुको प्रतिभा पहिचान गर्ने एक सशक्त माध्मम भएको पनि उहाँले बताउनुभयो ।
पहिलोपटक आधारभूत तहका विद्यार्थीहरुलाई पनि केही खेलहरुमा सहभागी बनाएको भन्दै उहाँले आगामी वर्षबाट सम्पूर्ण खेलहरुमा सहभागी बनाइने बताउनुभयो । व्यक्तिको सर्वाङ्गीण विकासका लागि विद्यार्थीहरुले पाठ्यक्रम र पाठ्यपुस्तकले मात्रै नहुने भन्दै उहाँले विद्यार्थीको सम्पूर्ण पक्षको विकासका लागि खेलकुद, गीतसङ्गीत, साहित्यिक गतिविधिका साथै अन्य अतिरिक्त क्रियाकलाप महत्त्वपूर्ण हुने बताउनुभयो । उहाँले हरेक विद्यालयले पढाइबाहेक अतिरिक्त क्रियाकलापका लागि क्यालेण्डर बनाएर कार्यान्वयन गर्नुपर्ने उल्लेख गर्नुभयो ।
सुवेरा मल्ल बनिन् सर्वोत्कृष्ट खेलाडी
कृष्ण माध्यमिक विद्यालयमै अध्ययनरत छात्रा सुवेरा मल्ल यसवर्षको मेयर कप प्रतियोगिताको सर्वोत्कृष्ट खेलाडी बन्न सफल हुनुभएको छ । उहाँ एथलेटिक्स खेलबाट सर्वोत्कृष्ट खेलाडी बन्न सफल हुनुभएको हो । मल्लले सर्वोत्कृष्ट खेलाडी भएवापत ५१ हजार रुपियाँ नगद पुरस्कार, प्रमाणपत्र र शिल्ड हासिल गर्नुभयो ।
मल्लले १०० मिटर दौडमा एक, रिले ४x१०० मा एक, रिले ४x४०० मा एक र सर्टकर्टमा एक गरी कुल चार स्वर्ण पदक हासिल गर्नुभएको हो । त्यसैगरी २०० मिटर दौडमा एक रजत पदक हासिल गरेको सचिवालयले जनाएको छ ।
आधारभूततर्फको खेलकुद प्रतियोगिता शनिबार नै सम्पन्न भइसकेको थियो । आधारभूततर्फ दुई स्वर्ण र चार रजतसहित ग्रीन पिस सेकेण्डरी स्कुल प्रथम भएको थियो । यस्तै दुई स्वर्णसहित साइनिङ स्टार मावि द्वितीय र एक स्वर्ण, एक कास्य र एक रजत पदकसहित जनज्योति पब्लिक स्कुलले तृतीय स्थान हासिल गरेका थिए ।
उनीहरुले क्रमशः २५ हजार, २० हजार र १५ हजार रुपियाँ नगद पुरस्कारसहित प्रमाणपत्र र शिल्ड प्राप्त गरेका थिए ।
आठौँ अन्तर आवि÷मावि मेयर कप रनिङ शिल्ड तथा १७औँ नगरस्तरीय राष्ट्रपति रनिङ शिल्ड खेलकुद छनोट प्रतियोगितामा कुल ५३ विद्यालयको सहभागिता थियो । प्रतियोगितामा एथलेटिक्स, भलिबल, कबड्डी र मार्सल आर्ट्स गरी चार विधामा खेल सञ्चालन भएका थिए । अतिरिक्त विधाका रुपमा चेसलाई समावेश गरिएको थियो । प्रतियोगितामा कुल दुई हजार एक सय ६७ खेलाडीले सहभागिता जनाएका थिए ।