• २१ माघ २०८१, सोमबार

लुम्बिनी प्रदेश सरकारअन्तर्गतका खानेपानी आयोजना अधुरा

blog

मल्लरानी गाउँपालिका–४ बुढाचौरमा दुई वर्ष पहिले निर्माण भएको खानेपानीको ट्याङ्की । तस्बिर : सुजल श्रेष्ठ

सुजल श्रेष्ठ
प्युठान, माघ २१ गते ।
झिमरुक गाउँपालिका वडा नम्बर १, सौतामारे गाउँका जनताले खानेपानीको समस्या व्यहोर्दै आएका छन् । करीब दुई सय १० घरधुरी रहेको गाउँलाई आवश्यक खानेपानी नहुँदा सास्ती खेप्दै आएका छन् ।

खानेपानीको सुविधा नहुँदा घण्टौं समय लगाएर पानी बोक्नुपर्ने बाध्यता छ । धेरै वर्ष पहिला केही घरधुरीमा काप्रा खोलाको पानी पाइपद्वारा लगेकोमा उक्त खानेपानीको पाइप लाईन जीर्ण भएर मर्मत नहुँदा पानी आउन छाडेको स्थानीय हिमलाल रोका क्षत्रीले बताउनुभयो । बस्तीभन्दा तल रहेको काप्राखोलामा बगेको पानी घण्टौँ समय लगाएर गाग्रीमा बोकी प्रयोग गर्दै आएको उहाँ बताउनुहुन्छ ।

सिङ्गो बस्तीका करिव पाँच सय ६० घर धुरीलाई समेट्ने गरी ०७८ सालमा लुम्बिनी प्रदेशबाट तामाखोली लिफ्ट खानेपानी आयोजना सुरु भए पनि प्रयाप्त बजेट नआउँदा सो योजना अझै सम्पन्न हुन सकेको छैन ।

बस्तीमा खानेपानीको समस्या धेरै पहिलेदेखि रहेको झिमरुक गाउँपालिका वडा नम्बर १ का वडा अध्यक्ष धुब्र खनालले बताउनुभयो । बस्ती ठुलो हुँदा साना–साना पानीका स्रोतले पनि प्रयाप्त नहुने उहाँको भनाइ छ । सबै घरधुरीलाई समेट्ने गरी तामाखोली लिफ्ट खानेपानी आयोजना सुरु गरेको र प्रदेश सरकाले प्रयाप्त बजेट निकाशा नगर्दा योजना अलपत्र भएको उहाँको भनाइ छ ।

यस्तै, आर्थिक वर्ष ०७७/०७८ मा सुरु भएको झिमरुक पाण्डेडाँडा–बुढाचौर लिफ्ट खानेपानी आयोजना निर्माणधिन छ । तीन करोड ६५ लाख ७४ हजार रुपियाँ लागतको उक्त योजना निर्माणमा हालसम्म ५३ लाख ८३ हजार रुपियाँ मात्र बजेट खर्च भएको छ । चालु आर्थिक वर्षमा २० लाख रुपियाँ बजेट विनियोजन भएको छ । योजना सम्पन्न गर्न अझै दुई करोड ९१ लाख ९१ हजार रुपियाँ बजेट आवश्यक पर्छ ।

निर्माणधिन योजना समयमै पूरा नहुँदा बनेका संरचना जीर्ण हुँदै गएका छन् भने उपभोक्ताले पानीका लागि दुःख पाइरहेका छन् । मल्लरानी गाउँपालिका–४ बुढाचौरमा एक सय ४६ घरधुरी लाभान्वित हुने गरी योजना सुचारु भएपछि खुशी भएका स्थानीय अहिले निराश बनेका छन् । “ट्याङ्की मात्र बनेको छ,” स्थानीय आरती विकले भन्नुभयो, “पानी आउने कहिले हो ?” वर्षौदेखिको पानीको दुःख हट्ला भनेर खुशी भए पनि चार वर्षसम्म योजना पूरा नहुँदा फेरी निराश हुनु परेको उहाँको गुनासो छ ।

गौमुखी गाउँपालिका वडा नम्बर ७ नारिकोटमा खानेपानीको चरम अभाव छ । खानेपानीको मुल नभएको उक्त वडामा लिफ्ट मार्फत खानेपानी पु¥याउन ०७६ सालमा सात करोड ३३ लाख ५३ हजार रुपियाँको लागतमा लिफ्ट खानेपानी आयोजना सञ्चालन भएको हो । ४५१ घरधुरीमा खानेपानी पु¥याउने उक्त योजना अहिलेसम्म पुरा हुन सकेको छैन । योजनाका लागि छ करोड ३० लाख ६ हजार बजेट आवश्यक छ । यो वर्ष मात्र दश लाख बजेट विनियोजन भएको छ । योजना अधुरो हुँदा खानेपानी समस्या हल हुन नसकेको वडा अध्यक्ष कोमल पुरीले बताउनुभयो । “पानीको मुल नभएको वडा भएकाले लिफ्ट योजना थालिएको थियो,” उहाँले भन्नुभयो, “योजना अधुरो हुँदा जनता समस्यामा छन् ।”

लुम्बिनी प्रदेश सरकार शहरी विकास तथा खानेपानी मन्त्रालयअन्तर्गतको खानेपानी तथा सरसफाई डिभिजन कार्यालय प्युठानका अनुसार जिल्लामा सघन खानेपानी विकास कार्यक्रमअन्तर्गत १७ वटा योजनालाई कार्यालयले जटिल प्रकारको योजनाको रुपमा वर्गीकरण गरेको छ । त्यसैगरी, जलवायु अनुकूलित वृहत खानेपानी आयोजना (संघ शसर्त अनुदान) अन्तर्गतका चार वटा योजना अधुरा छन् ।

ती योजनाको कुल लागत जनश्रमदान बाहेक ९५ करोड ४४ लाख ९० हजार रुपियाँ रहेको छ । तर सरकारले ती योजनाका लागि हालसम्म २८ करोड एक लाख ३३ हजार रुपियाँ मात्र बजेट खर्च गरेको छ । योजनाका लागि आवश्यक लागतको आधाभन्दा पनि कम बजेट विनियोजन र खर्च भएको तथ्याङ्क छ । ती योजना सम्पन्न गर्न अझै ६३ करोड ७९ लाख ७१ हजार रुपियाँ बजेट आवश्यक पर्छ ।

खानेपानी तथा सरसफाई डिभिजन कार्यालय प्युठानका प्रमुख राजकिशोर मण्डलले करोड आवश्यक पर्ने योजनामा १०/२० लाख मात्र बजेट विनियोजन हुँदा समस्या भएको बताउनुभयो । “मुख्य समस्या बजेटकै हो, बजेट अभावले गर्दा योजना पुरा हुन सकेको छैन,” उहाँले भन्नुभयो, “मन्त्रालयमा अवस्था जानकारी गराएका छौं ।” आगामी आर्थिक वर्षमा सम्भव भए धेरैभन्दा धेरै योजना सम्पन्न गर्ने मन्त्रालयको योजना रहेको जानकारी आफूले पाएको कार्यालय प्रमुख मण्डलले बताउनुभयो ।