• २० माघ २०८१, आइतबार

त्रिकोणात्मक टी–२० सिरिज

नेपालको लगातार तेस्रो हार

blog

नेपालविरुद्ध ब्याटिङ गर्दै नेदरल्यान्ड्सकी खेलाडी । तस्बिर : क्यान

काठमाडौँ, माघ २० गते । महिला त्रिकोणात्मक अन्तर्राष्ट्रिय टी–२० सिरिजमा नेपालले लगातार तेस्रो हार खेपेको छ ।

कीर्तिपुरस्थित त्रिवि मैदानमा आइतबार भएको खेलमा नेपाल नेदरल्यान्ड्ससँग १५ रनले पराजित भयो । यसअघि नेपाल पहिलो खेलमा नेदरल्यान्ड्ससँग २० रनले पराजित भएको थियो । दोस्रो खेलमा नेपाल शनिबार थाइल्यान्डसँग चार विकेटले पराजित भएको थियो । 

जितका लागि एक सय ४१ रनको लक्ष्य पछ्याएको नेपालले निर्धारित २० ओभरमा आठ विकेटको क्षतिमा एक सय २५ रन मात्र बनाउन सक्यो । नेपालका लागि कप्तान इन्दु वर्माले सर्वाधिक ३० रन बनाउनुभयो ।

यस्तै ओपनर सम्झना खड्काले २३, पूजा महतोले १८ र कविता जोशीले १४ रन बनाउनुभयो । बलिङमा नेदरल्यान्ड्सका आईरिस जेवेलिङ, क्यारोलिन डे लन्ज र हेखर सिगरले दुई दुई तथा इभा लिन्च र इशावेल भानले एक एक विकेट लिनुभयो । 

यसअघि टस जितेर पहिले ब्याटिङ रोजेको नेदरल्यान्ड्सले २० ओभरमा सात विकेटको क्षतिमा एक सय ४० रन बनाएको थियो । नेदरल्यान्ड्सका लागि कप्तान बाबेट डि लिडेले सर्वाधिक ४१ रन बनाउनुभयो ।

यस्तै  हिटर सिगर्सले २६ तथा रोविन रिके र फेबी मोलकिनरले २१/२१ रन जोड्नुभयो । बलिङमा नेपालकी सीता रानामगरले पाँच विकेट लिनुभयो । मनीषा उपाध्यायले दुई तथा कविता जोशी र कप्तान इन्दु वर्माले एक एक विकेट लिनुभयो । नेपालले मङ्गलबार थाइल्यान्डसँग खेल्नेछ ।