• २० माघ २०८१, आइतबार

अर्जुन ट्रफी क्रिकेट : अत्तरियाले बैतडीलाई हरायो

blog

बैतडी, माघ २० गते । कैलालीको धनगढीमा जारी अर्जुन ट्रफी राष्ट्रिय क्रिकेट प्रतियोगिताअन्तर्गत आज सम्पन्न पहिलो खेलमा सिवाइसी अत्तरिया विजयी भएको छ । अत्तरियाले दशरथचन्द एकेडेमी बैतडीलाई २६ रनले पराजित गर्‍यो । 

जितका लागि पाएको एक सय ६५ रनको लक्ष्य पछ्याएको बैतडीले निर्धारित २० ओभरमा नौ विकेटको क्षतिमा एक सय ३८ रन मात्रै बनाउन सक्यो । उसका लागि हिमाल दौल्यालले सर्वाधिक ३९ रन बनाए । 

बलिङतर्फ अत्तरियाका विवेक यादवले चार, साहब आलम र कमल गुप्ताले २र२ विकेट लिए । त्यसअघि फाप्ला क्रिकेट मैदानमा टस हारेर पहिले ब्याटिङ गरेको अत्तरियाले निर्धारित २० ओभरमा तीन विकेटको क्षतिमा एक सय ६४ रन बनायो । जसमा भीम सार्कीले अर्धशतकीय पारी खेल्दै ७० रनमा अविजित रहे । बैतडीका अमरसिंह रौटेलाले २ विकेट हात पारे ।

गो ड्रिमर्सको आयोजनामा सुरु भएको प्रतियोगिताका विजेताले रु.  १० लाख र उपविजेताले रु. पाँच लाखसहित ट्रफी पाउने छन् । प्रतियोगिताको सर्वोकृष्ट खेलाडीलाई रु. एक लाख प्रदान गरिनेछ भने उत्कृष्ट ब्याटर, उत्कृष्ट बलर र उदीयमान खेलाडीले जनही रु. ५०–५० हजार पाउनेछन् । साथै प्लेयर अफ द म्याचलाई रु. १० हजार प्रदान गरिनेछ । प्रतियोगितामा  आठ टोलीको सहभागिता छ । रासस