राजकुमार भट्टराई
खोटाङ, माघ १९ गते । खोटाङबाट दुई बेसहारा महिलाको उद्धार गरिएको छ । आफन्त कोही नभएपछि जिल्ला अस्पताल खोटाङमा अलपत्र पर्नुभएका ७२ वर्षीया टिकामाया सार्की र मानसिक रूपमा विक्षिप्त ५१ वर्षीया मनमाया फुँयलको उद्धार गरिएको हो । उहाँहरूको उद्धार गरेर शनिबार मानव सेवा आश्रम विराटनगर पठाइएको छ ।
दिक्तेल रूपाकोट मझुवागढी नगरपालिका, जिल्ला प्रहरी कार्यालय खोटाङ, जिल्ला अस्पताल खोटाङ र स्थानीय नागरिकको समन्वय र पहलमा दुई बेसहारा महिलाको उद्धार गरिएको हो । उहाँहरूलाई शनिबार बिहान नगरपालिकाले व्यवस्थापन गरेको सुमो गाडीमा राखेर मानव सेवा आश्रम पठाइएको छ ।
दिक्तेल रूपाकोट मझुवागढी नगरपालिका–४ खाल्ले घर भएका सार्की बिरामी भएर गत पुस २४ गते जिल्ला अस्पतालमा भर्ना हुनुभएको थियो । उहाँलाई दम र मुटुको समस्या देखिएको अस्पतालका प्रमुख डा. रुपेश संग्रौलाले बताउनुभयो । उपचार पश्चात अस्पताले डिस्चार्ज दिए पनि आफन्त कोही नभएपछि अस्पतालको संरक्षणमा अस्पतालमै रहनुभएको थियो ।
टिकामायाको श्रीमानको मृत्यु भइसकेको र छोरीको पनि केही समय अघि मृत्यु हुँदा उहाँ बेसहारा हुनुभएको हो । दिक्तेल बजारमा ज्यालादारी मजदुरी गर्दै जीवनयापन गरिरहनुभएको टिकामाया बिरामी भएपछि बेसाहारा हुनुभएको हो । खाल्लेबाट वृद्धा भत्ता पाइरहनुभएका ७२ वर्षीया टिकामायाको भत्ता निकाल्ने व्यवस्था विराटनगरबाटै मिलाइदिने नगरपालिकाले जनाएको छ ।
यस्तै, दिक्तेल रूपाकोट मझुवागढी नगरपालिका–१४ बुइपा स्थायी ठेगाना भएको फुँयल विगत १५ वर्षदेखि मानसिक रूपमा विक्षिप्त हुनुहुन्थ्यो । परिवार विहीन हुनुभएको मनमाया दिक्तेलस्थित माइती भदाहको घरमा बस्दै आउनुभएको थियो । माइती परिवारको पनि आर्थिक अवस्था कमजोर रहेको र मानसिक उपचार गराउन नसक्ने भएपछि उहाँको पनि उद्धार गरेर मानव आश्रम पठाइएको दिक्तेल रूपाकोट मझुवागढी नगरपालिकाका प्रमुख तीर्थराज भट्टराईले बताउनुभयो ।
दुवै महिलालाई नगरपालिका र प्रहरीको सहायतामा शनिबार मानव सेवा आश्रम विराटनगर पठाइएको छ । केही महिना अघि जिल्ला प्रहरी कार्यालय र नगरपालिकाको संयुक्त पहलमा दिक्तेलबाट दुई सडक मानवको उद्धार गरेर सोही आश्रम पठाइएको थियो ।