वराहक्षेत्र समाचारदाता
वराहक्षेत्र, माघ १९ गते । वराहक्षेत्र नगर क्षेत्रको बजारका मुख्य चोकमा निगरानी गर्नका लागि जडान गरिएका सिसी क्यामरा बिग्रिएको महिनौँसम्म पनि मर्मत नहुँदा सुरक्षा व्यवस्थामा कठिनाइ भएको छ ।
नगर क्षेत्रका नागरिकको सुरक्षाका लागि भिडभाड हुने बजार र चोकमा सिसी क्यामरा जडान गरिएको थियो । जडान गरिएका सिसी क्यामरा महिनौँदेखि बिग्रँदा सुरक्षा व्यवस्थामा चुनौती थपिँदै गएको प्रहरीले जनाएको छ ।
वराहक्षेत्र नगरका मुख्य चोकमा राखिएका करिब दुई दर्जन सिसी क्यामरामध्ये अधिकांश सिसी क्यामरा बिग्रिएर नचल्ने अवस्थामा छन् । सञ्चालनमा आएका क्यामरा पनि मर्मत नहँुदा राम्ररी नदेखिने इलाका प्रहरी कार्यालय महेन्द्रनगर चव्रmघट्टीले जनाएको छ ।
वराहक्षेत्र नगरपालिकाले वराहक्षेत्र–६, चव्रmघट्टीको बजार चोकमा राखेको सिसी क्यामरा बिग्रेको महिनौँ हुँदा पनि नगरले मर्मतसम्भारमा ध्यान नदिएको स्थानीयले बताएका छन् । वराहक्षेत्र–६ का वडाध्यक्ष उद्धव पोख्रेल भन्नुहुन्छ, “नगरकै बजेटबाट राखेको भए पनि कतिपय स्थानमा चलेका छन् । कतिपय क्यामरा बिग्रिएका छन् । सिसी क्यामराको तार अरूभन्दा कमजोर हुने भएकाले धेरै ठाउँको तार चुडिएका छन् ।”
यता वराहक्षेत्र–९, राजावास बजार क्षेत्रमा रहेका छ वटा सिसी क्यामरा बिग्रिएको महिनौँ भइसक्यो । नगरमा जानकारी गराउँदा पनि सिसी क्यामरा बनाउन चासो नदिएको राजावासका स्थानीय लालबहादुर लिम्बू (जोनी) ले बताउनुभयो ।
नागरिकको सुरक्षाका लागि राखिएको सिसी क्यामरा नै बिग्रँदा स्थानीयले समेत चिन्ता गरेका छन् । वराहक्षेत्र नगरपालिकाकै बजेटबाट राखिएका क्यामरा बिग्रँदासमेत नगर मुकदर्शक बनेको स्थानीयले आरोप लगाएका छन् । वराहक्षेत्र–१०, प्रकाशपुरमा राखिएका कुनै पनि सिसी क्यामरा चल्ने अवस्थामा छैनन् ।
यस्तै वराहक्षेत्र–५, कालाबन्जार बजार क्षेत्रमा रहेको सिसी क्यामरा स्थानीयको दबाबपछि एक हप्ताअघि मात्रै नगरपालिकाले मर्मत गरेर सञ्चालनमा ल्याएको छ तर नगरपालिकाले नगरकै अन्य ठाउँमा रहेको क्यामरा मर्मतमा कुनै चासो नै देखाएको छैन ।
जडान गरिएका सिसी क्यामरा नगर क्षेत्रमा रहेका प्रहरी कार्यालयबाट निगरानी गर्ने गरी राखिएको थियो । सिसी क्यामराको संरक्षण तथा निगरानी नगर क्षेत्रमा रहेका प्रहरी कार्यालयले गर्ने भए पनि यसको मर्मतसम्भार भने वराहक्षेत्र नगरपालिकाले गर्नुपर्ने स्थानीयको भनाइ छ ।
नगरको मुख्य स्थानमा क्यामरा जडान गरी निगरानी गरिँदै आएको थियो । कहीँकतै दुर्घटना भएमा सिसी क्यामरा फुटेजको सहयोगले दोषीलाई नियन्त्रणमा लिन सजिलो हुने गरेको र अपराधिक व्रिmयाकलापमा पनि कमी आएको प्रहरीको भनाइ छ । लामो समयदेखि सार्वजनिक स्थानमा राखिएका क्यामरा बिग्रिएपछि कुनै घटना वा चोरी भए पनि क्यामरा फुटेजको सहयोग लिनबाट प्रहरी वञ्चित भएको हो ।
वराहक्षेत्र नगरका प्रमुख प्रशासकीय अधिकृत गणेशबहादुर कटुवालले वराहक्षेत्रको नडा, चतरा, कोशी पुललगायतका ठाउँमा जडान गरिएका सिसी क्यामरा बिग्रिएकाले ठुलो पावरको राख्ने र अन्य स्थानमा जडान भएका क्यामराको मर्मत गर्ने कुरा भइरहेको बताउनुभएको छ ।