राधा लुइटेल
फिदिम, माघ १९ गते । यस वर्षको अमर नेम्बाङ लिम्बू स्मृति साहित्य सम्मान तथा पुरस्कार कवि कृष्ण धरावासी र कवि स्वप्निल स्मृतिलाई संयुक्त रुपमा प्रदान गरिने भएको छ । अमर नेम्बाङ लिम्बू स्मृति प्रतिष्ठानले नेम्बाङको छैठौं स्मृति दिवसमा धरावासी र स्वप्निललाई संयुक्तरुपमा सम्मान तथा पुरस्कार प्रदान गर्ने निर्णय गरेको हो ।
उक्त पुरस्कारको राशि जनहि नगद ५० हजार र कदर पत्र रहेको छ ।
प्रतिष्ठानका अध्यक्ष मुनिन्द्र नेम्बाङका अनुसार प्रतिष्ठानले यहि माघ २६ गते कवि धरावासी र स्वप्निललाई साहित्य सम्मानसहित एक जना विद्यार्थीलाई छात्रवृति र बम विस्फोटमा परेका तथा बाढीपहिरो पीडितलाई राहत वितरण गर्न लागेको हो ।
सम्मानित धरावासी मदन पुरस्कार विजेता चर्चित नेपाली साहित्यकार हुनुहुन्छ भने स्वप्निल अनवरत साहित्य साधना गरिरहनुभएको छ ।
उक्त पुरस्कार यसअघि श्रवण मुकारुङ, प्रेम ओझा, शारदा सुब्बा, बिना थिङ, डा.गोविन्दराज भट्टराई, बीर नेम्बाङ, देवी क्षेत्री दुलाल, मुनाराज शेर्मा बिमला तुम्खेवा र गिरीराज बास्कोटालाई प्रदान गरी सकिएको छ ।