असामान्य अर्थमा विकास भनेको यथास्थितिबाट सकारात्मक परिवर्तन हुनु हो । यसले बहुआयामिक अवधारणा अन्तर्गत पत्रकारितासँग पनि साइनो जोडेको पाइन्छ । जुन पत्रकारिताले व्यक्ति, समाज र पूरै देशलाई विकासतर्फ अग्रसर गराउँछ त्यही पत्रकारिताको आधार भने विकासमूलक समाचार सङ्कलनमा बाँचेको हुन्छ । यस अर्थमा विकासमूलक समाचार सङ्कलनले समाजको सामाजिक, आर्थिक तथा राजनीतिक जस्ता बहुआयामिक विकाससँग सम्बन्धित विषयलाई प्रधानता दिने गर्छ । यस्तो समाचार सङ्कलनमा विकासका प्रयास, चुनौती र समाधानका उपायसमेतलाई समेटेर जवाफदेहिता सुनिश्चित गर्ने प्रयास गरिन्छ । समाचारमा सन्तुलित, सर्वाङ्गीण र दिगो विकासलाई केन्द्रमा राखिने हुँदा कुनै एकपक्षीय वृद्धिलाई मात्र वास्ता गरिँदैन । त्यसैले विकास पत्रकारिताले बाह्य आवरणमा हुने वृद्धिलाई महìव नदिई गुणस्तरसहितको दिगोपनालाई समेटेको हुन्छ ।
विकासोन्मुख देशको आवश्यकताबाट जन्म हुन पुगेको विकास पत्रकारितालाई अघि बढाउन एसियाली पत्रकारिताको मुख्य भूमिका पाइन्छ । उनीहरूले विकसित देशका विकासवादी आदर्श एवं सिद्धान्तको सट्टा व्यावहारिक रूपमा विकासोन्मुख देशका सर्वहारा जनताको आवश्यकता अनुसार पत्रकारिता गर्ने सङ्कल्प गरे । यसैको परिणाम स्वरूप सन् १९६७ मा फिलिपिन्समा ‘एसिया प्रेस फाउन्डेसन’ को स्थापना भयो । एसियाली सम्पादक तथा प्रकाशकले यही फाउन्डेसनमार्फत सङ्गठित हुँदै स्थानीय आवश्यकतामा आधारित विकासका गतिविधिलाई खोजमूलक समाचारमा समेट्ने प्रयास गरिरहे । यस अवधारणा अन्तर्गत पत्रकारहरूले समाजका गरिब, पिछडिएका एवं उपेक्षित वर्गका आवाजलाई प्राथमिकता दिन सुरु गरे । उपनिवेशोत्तर देशहरूको विकासको आवश्यकता, पश्चिमी पत्रकारिताको प्रभाव र त्यसको आलोचना तथा सूचना र सञ्चारको बढ्दो भूमिकाले गर्दा पनि विकास पत्रकारिता अझ मौलाउन थाल्यो । यो प्रजातन्त्र, प्रेस स्वतन्त्रता एवं मानव अधिकार जस्ता विषयबाट केही हदसम्म प्रभावित भए पनि अन्ततः निमुखा एवं सर्वहारा व्यक्तिको सर्वाङ्गीण विकासमा केन्द्रित भएर अगाडि बढेको छ । सनसनीपूर्ण समाचारले गहन विषयवस्तुलाई ओझेलमा पारिरहँदा विकास पत्रकारिता त्यसको विकल्पको रूपमा युगीन आवश्यकता अनुरूप उदाएको हो ।
विकास पत्रकारिताले सदैव गहन रिपोर्टिङलाई केन्द्रमा राख्छ । समाजको आर्थिक, सामाजिक एवं पर्यावरणीय विकाससँग सम्बन्धित विषयवस्तुमा ध्यान केन्द्रित गर्दै कुनै पनि समस्याको कारण, प्रभाव र दीर्घकालीन समाधान खोजी गर्नु यसको प्रमुख उद्देश्य हो । गरिबी, असमानता, जलवायु परिवर्तन, परम्परागत अन्धविश्वास र सार्वजनिक स्वास्थ्य सङ्कट जस्ता चुनौतीहरूको सामना गरिरहेका देशहरूमा विकास पत्रकारिताको आवश्यकता झनै बढिरहेको छ । समाजमा सकारात्मक प्रभाव पार्ने सन्दर्भदेखि लिएर देश विकासका लागि एउटा उत्तरदायी नागरिक बनाउनसम्म विकास पत्रकारिताको युगीन अपरिहार्यता बढ्दै छ ।
सकारात्मक धारणाको विकास
पछिल्लो समय नेपाली पत्रकारिता क्षेत्रलाई लक्षित गरी प्रत्यक्ष वा परोक्ष रूपबाट धेरै आलोचना भइरहेको पाइन्छ । नेपाली पत्रकारितालाई नै बदनाम गराउने गरी विभिन्न पक्ष र स्वार्थ समूहबाट बारम्बार आव्रmमण हुने गरेको छ । सर्वसाधारण जनतामाझ पनि पत्रकारिताले सदैव विनाश, विकृति, विसङ्गति, हत्या हिंसा, आतङ्क, आपराधिक घटना जस्ता विषयलाई मात्र समेट्छ भन्ने गलत भाष्य सिर्जना गरिँदै छ । नेपाली पत्रकारितामा यसभन्दा बढ्ता कुनै कुरा उठान हुन्छ भने त्यो राजनीतिक विषय र घटनाव्रmमको सन्दर्भ प्रकट हुन्छ भन्ने बुझाइ बढ्दो छ । हुन त पत्रकारितामा ‘नियमित हुने वा भइरहने कार्य’ लाई समाचार बनाइँदैन तर पनि ‘नियमितभित्रका भिन्न उपलब्धि वा विकासको मार्ग’ लाई भने कदापि रोक्नु हुँदैन । राज्यको चौथो अङ्ग मानिने पत्रकारिता जगत्ले सधैँ निगरानी मात्रै गर्ने हो भने सधैँ ‘समस्यापछिको पत्रकारिता’ बन्ने सम्भावना हुन्छ । यसले परोक्ष रूपमा राज्यका कमीकमजोरी निरन्तर होइरहुन् भन्ने नकारात्मक भाव पैदा गराउन सक्छ । पत्रकारिताले सर्वसाधारणको दुःखकष्ट खोजिरहन्छ तर ती समस्या समाधानमा सरोकारित पक्षलाई झकझक्याउन सक्दैन भने त्यो विकासविरोधी कर्म हो । त्यसैले अबको पत्रकारिताले राज्यलाई खबरदारी गर्ने मात्र नभई उसका कमजोरी हटाउने सम्बन्धमा समाधानको मार्ग पनि पहिल्याउन जरुरी छ । यदि पत्रकारिताको माध्यमबाट समस्या मात्र उजागर गर्ने तर सोको सम्भावित समाधानका सबालमा सरोकारित पक्षलाई उत्तरदायी नबनाउने हो भने त्यो पूर्णतः विकासमैत्री हुन सक्दैन । यसको अर्थ पत्रकारितामा समस्या आउनै हुँदैन भन्ने होइन । समस्या पहिचान गरिरहँदा सम्भव भएसम्म सोको समाधान पनि खोजी गर्नु पत्रकारिताको धर्म ठहरिन्छ ।
पत्रकारिताको मूल कार्य भनेकै सर्वसाधारणलाई सही सूचना, सत्शिक्षा, स्वस्थ मनोरञ्जन र सकारात्मक उत्प्रेरणा दिनु हो तर हाम्रो सनातनी समाचार लेखनमा बढीभन्दा बढी प्रचारमुखी सामग्रीले ठाउँ पाइरहेको हुन्छ । अपूर्ण तथा भ्रामक सूचनाको सम्प्रेषणमार्फत पनि नेपाली पत्रकारिता बदनाम भइरहेको पाइन्छ । कतिपय आपराधिक मनोवृत्तिसँग सम्बन्धित घटनाप्रधान समाचारले मनोवैज्ञानिक रूपमै पाठक, दर्शक वा श्रोतालाई नकारात्मक भाव जगाइदिने काम गरेका छन् । समाचारको शीर्षकमै ‘अपराधी फरार’ लेखिरहँदा जस्तो भाव जागृत हुन्छ, त्यसको सकारात्मक भाव विकास गर्नका लागि ‘अपराधीको खोजी कार्य जारी’ भन्नु बढी श्रेयस्कर ठहर्छ । यस्तै साना साना विषय सन्दर्भबाट पनि सर्वसाधारणमा सकारात्मक उत्प्रेरणा हुने गरी फिचर वा न्युज स्टोरी सम्पे्रषण गरिरहने हो भने नेपाली पत्रकारितामार्फत अझ बढी सकारात्मक भाव जगाउन सकिन्छ ।
अहिलेको सूचना तथा प्रविधिको युगमा प्रत्येक नेपाली नागरिक आफैँमा ‘सञ्चारकर्मी’ हुन् । उसले सामाजिक सञ्जाल र न्यु मिडियाको प्रयोगमार्फत विकासका प्रत्येक गतिविधिबारे खोज अनुसन्धान गरी आफ्ना विचार सार्वजनिक गरिरहेको हुन्छ । यिनै विचार तथा आलेखका आधारमा पनि पत्रकारले थप सोधखोज गरी समाचार बनाउन सक्ने अवस्था रहन्छ । यसमा गहन रिपोर्टिङ गर्न सकिएन भने सामाजिक सञ्जाल प्रयोगकर्ताको विचार वा आलेखभन्दा समाचारको गुणस्तर अझ खस्कन सक्ने भएकाले त्यसतर्फ पत्रकार थप सजग हुनुपर्ने हुन्छ ।
विश्वसनीयताको आभास
आदर्श समाज स्थापना गर्ने पवित्र उद्देश्य राखेको पत्रकारिताले सर्वसाधारणमाझ प्रमाणिक र विश्वसनीय खुराक पस्कने गर्छ । यही धर्मका आधारमा उसले आवाजविहीनका आवाज बुलन्द गर्दै जनता र राज्यलाई जोड्ने सेतुको काम गरिरहेको हुन्छ । विश्वसनीय, जिम्मेवार र मर्यादित पत्रकारिताको जगबाट नै विकास पत्रकारिता बाँच्छ । यसका लागि बढीभन्दा बढी खोजमूलक सामग्रीले प्राथमिकता पाउनुपर्ने हुन्छ । नेपाली पत्रकारितामा पछिल्लो पटक सामाजिक सञ्जालमा प्रचारबाजी गर्ने होडले पनि विश्वसनीयता घटाइरहेको पाइन्छ । कानुनी हैसियत प्राप्त नगरी न्युज पोर्टल बनाएर सामाजिक सञ्जालमा प्रचारबाजी गर्नेहरूले नै अहिले वास्तविक पत्रकारिताको विश्वासनीयता गुमाउन भूमिका निर्वाह गर्दै छन् ।
न्युज पोर्टलको आधिकारिता नहुने, कहीँ कतै दर्ता नहुने, सम्पादक÷प्रकाशक नै बेनामे हुने, कार्यालयको ठेगाना कतै नपाइने र गलत सम्पर्क नम्बर दिएर समाचार वा सूचना सम्प्रेषण गर्ने कार्य सामाजिक सञ्जालमार्फत भइरहेको छ । यस्ता कथित न्युज पोर्टलबाट आजित सर्वसाधारणलाई आधिकारिक र विश्वसनीय सूचना सम्प्रेषण गर्दै विश्वास जित्नुपर्ने चुनौती अहिलेको विकास पत्रकारिताले भोगिरहेको छ । कतिपय पत्रकारबाट समाचारमा आउनुपर्ने विषय पहिले नै सामाजिक सञ्जालमा बिनाहेडलाइन वा ‘फेसबुक स्टाटस’ को रूपमा सम्प्रेषण भइरहेको पाइन्छ । सामाजिक सञ्जालमा आधिकारिक न्युज पोर्टलको समाचार लिङ्क पाउनुको सट्टा सोझै फेसबुकमा आधिकारिक समाचार पढ्न भेटिन्छ, जसको कानुनी मान्यता थाहा हुँदैन । यसले गर्दा पनि जोकोहीलाई आधिकारिक समाचार पोर्टलको महìव बोध गराउन कठिनाइ भई विश्वसनीय सूचना तथा समाचार पस्कने मिडिया ओझेलमा पर्ने गरेका छन् । यसैले अबको विकास पत्रकारिताले सर्वसाधारणमा सबैभन्दा पहिले मिडिया साक्षरता बढाउनुपर्ने आवश्यकता खड्किँदै छ । यस्तै विकास रिपोर्टिङमार्फत स्थानीय सञ्चार माध्यमप्रति स्थानीयवासीको विश्वास र सहयोगको वातावरण तयारगर्नुपर्ने हुन्छ ।
स्थानीयतामा जोड
नेपालको रैथाने संस्कृति, परम्परा एवं स्थानीयताको उन्नयनका लागि अब भने विकास पत्रकारिताको अभ्यास बढाउनुपर्र्ने हुन्छ । स्थानीय भाषा, साहित्य, कला, संस्कृति, परम्परा, उत्पादन, सिर्जना, सम्पदा, कौशल आदिलाई बढावा दिने गरी निरन्तर रिपोर्टिङ हुनु पर्छ । परम्परागत पत्रकारिताले प्रायः सनसनीपूर्ण समाचार र राजनीतिक भाषण एवं विवादहरू उजागर गरिरहँदा स्थानीय स्तरमा गरिबी निवारण, शिक्षा सुधार, स्वास्थ्य सेवामा पहुँच एवं विकासप्रतिको आमसर्वसाधारणको बुझाइ अपेक्षाकृत रूपमा बढाउन सकेको पाइँदैन ।
नेपाल जस्तो बहुभाषिक एवं बहुसांस्कृतिक विशेषता भएको देशमा सबैले सहज रूपमा नेपाली भाषा बुझ्न सक्ने अवस्था छैन । अल्पसङ्ख्यक जातिको पनि भिन्न सांस्कृतिक विशेषता छ । त्यस्तो अवस्थामा सनातनी पत्रकारिताले जबरजस्ती रूपमा नेपाली भाषामा रिपोर्टिङ गरी समाचार सम्प्रेषण गर्दा कैयौँले बुझ्न सक्ने अवस्था बन्दैन । जब समाचारको विषय नै बुझ्न सकिँदैन तब उक्त समाचारको प्रभाव कसरी अनुभव गर्ने होला ? यो प्रत्येक नेपाली समाजमा कुनै न कुनै रूपबाट प्रकट भइरहने समस्या हो । त्यसैले अबको विकास पत्रकारिताले यस्ता विषयवस्तुमा ध्यान केन्द्रित गर्दै स्थानीय नेपाली समाज अनुकूलका समाचार सन्दर्भलाई प्राथमिकतामा ल्याउनु पर्छ । अनि मात्र स्थानीय स्तरमा भइरहेका विकास परियोजनाको सफलता, असफलता र यसले प्रभावित समुदायमा पार्ने प्रभाव जस्ता जटिल पक्षहरूको खोजी गर्न सकिन्छ । ग्रामीण नेपाली समाजमा पाइने पिछडिएका वर्गको आवाजलाई बलियो बनाउने गरी पत्रकारिता गरिनु पर्छ । स्थानीय समुदायले धान्न नसक्ने अवस्थाको विकासवादी चिन्तनलाई भने बेवास्ता गर्न सक्नु पर्छ । यसैले अहिलेको विकास पत्रकारिताले स्थानीय स्तरका आमसर्वसाधारणलाई विकाससम्बन्धी चेतना प्रवर्धन गर्न सक्नु पर्छ । राजमार्गबाहेकका धेरै जसो सडकमा गरिएको कालोपत्रे दुई÷तीन वर्षपछि नै भत्किएर पुनः खाल्टाखुल्टी भइहाल्ने अवस्थामा अबको पत्रकारिताले सडक कालोपत्रेको सन्दर्भभन्दा पनि सोको दिगोपनाबारे खोजपरक रिपोर्टिङ गर्नुपर्ने हुन्छ ।
दिगो विकासका रणनीति र सोको प्रतिफलबारे स्थानीय समुदाय जानकार हुने गरी सूचना सम्प्रेषित हुनु बढी फलदायी ठहर्छ । त्यसैले अब सूचना प्रवाहसँगै कार्य गर्नसमेत प्रेरित गर्ने ‘शिक्षात्मक रिपोर्टिङ’ मौलाउनु पर्छ । अतः स्थानीय स्तरमा रिपोर्टिङमार्फत समुदाय–प्रेरित पहल र समाधानलाई उजागर गर्न सक्नु पर्छ । यस्तो अवस्थामा स्थानीय ज्ञान र स्रोतलाई उपयोग गरी दिगो विकास सुनिश्चित गर्न सहयोग पुग्छ । मूलतः भौतिक उन्नयन र आर्थिक समृद्धि मात्र विकास ठान्ने हाम्रा स्थानीय मिडियाले अब भने सामाजिक, सांस्कृतिक एवं बौद्धिकसहितका सर्वाङ्गीण विकासलाई प्राथमिकता दिनुपर्ने हुन्छ ।